अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध जिम्बाब्वे एक रनले विजयी भएको छ ।
जारी विश्वकपमा जिम्बाब्वेको यो पहिलो जित हो । अघिल्लो खेलमा उसले दक्षिण अफ्रिकासँग वर्षाका कारण अंक बाँडेको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो ।
अघिल्लो खेलमा ऊ भारतसँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा जिम्बाब्वेले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।
उसका लागि शन मसूदले ३८ बलमा तीन चौकाको मद्दतमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै, मोहम्मद नवाजले २२ शादब खानले १७, मोहम्मद रिजवानले १७ र मोहम्मद वसिमले अविजित १२ रन जोडे ।
जिम्बाब्वेका लागि सिकन्दर राजाले ४ ओभरमा २५ रन सर्वाधिक तीन विकेट लिए । त्यस्तै, ब्राड इभन्सले दुई, ब्लेसिङ मुजरबानी, ल्यूक जोंग्वेले एक/एक विकेट हात पारे ।
त्यसअघि पर्थस्टेडियममा टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो । उसका लागि सेन विलियम्सले ३१, क्रेग एर्विन, ब्राड इभन्सले १९/१९, वेस्ली मधेभरेले १७ र रयान बर्लले अविजित १० रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद वसिमले चार, शादब खानले तीन र हरिस रौफले एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।