[विशेष आलेख] गौतम बुद्ध : विद्रोही कि विधर्मी ?
हिन्दुराज्य अवधारणाको अँध्यारो पक्ष

 

बौद्धिक आन्दोलनले सत्ताले निर्माण गरेका भाष्यलाई निरन्तर चुनौती दिने र शक्तिको पिरामिडमा सबैभन्दा तल रहेको जनताको पक्षबाट नयाँ भाष्यको रचना गरिरहने हो भने राजनीतिक शक्तिलाई चुनौती दिन सकिन्छ.... मार्क्सवाद होस् या उदार लोकतन्त्रको सिद्धान्त, सबै विदेशबाट आयात गरिएका दर्शन हुन् । ती दर्शनले खास प्रकारले समाज बदल्ने खुराक अवश्य दिन्छन् । तर, नेपालकै समाजका जटिलता, अन्तरविरोध र परिवर्तनको प्रवाहलाई ती दर्शनले देखाइदिन सक्दैनन् । युरोपमा निर्माण भएका सिद्धान्तसँग दार्शनिक गुदी त लिन सकिन्छ, तर त्यसलाई प्रयोग गर्दा नेपाली समाजका जटिलता केलाउन आफ्नै दार्शनिक विधि, सिद्धान्त चाहिन्छ । यही मामलामा नेपालका राजनीतिक आन्दोलनहरु पटकपटक असफल भएका छन् । 

युग पाठक (मङ्गेना, २०७४)

ज्ञान नवोन्मेष (Knowledge Innovation) को इतिहासमा युरोपियन पुनर्जागरणको महत्व सर्वस्वीकृत रह्यो । मूलतः १४औं शताब्दीदेखि १७औं शताब्दीसम्म भएको पुनर्जागरणले मध्ययुगीन अन्धकारलाई चुनौती दिँदै आधुनिकताको उज्यालोतर्फ सफल संक्रमण गरायो भन्ने सर्वमान्य मान्यता छ । पुनर्जागरणले अर्को दुई महत्वपूर्ण आन्दोलन जन्मायो– धर्मसुधार आन्दोलन र ज्ञानोदय आन्दोलन । १७औं शताब्दीको ज्ञानोदय आन्दोलनले आधुनिकतावादको जग मजबुत बनायो । 

२०औं शताब्दीमा भने केही महत्वपूर्ण ज्ञान नवोन्मेष भयो र त्यसमा तीन स्रोत प्रमुख रहे– मिसेल फुको, अन्तोनियो ग्राम्ची र ज्याक ड्यारिडा । फुकोले ज्ञानलाई उत्पादन र पुनरुत्पादन प्रक्रियासँग जोडे, जहाँ व्यक्ति वा समूहले ज्ञानको उत्पादन र पुनरुत्पादन गर्दछ । ज्ञान आफैँचाहिँ सत्यको निर्धारक मात्र हो । ज्ञान त्यो बेला सत्य बन्दछ, जुन बेला शक्तिले पृष्ठपोषण गर्दछ । शक्तिद्वारा पृष्ठपोषित ज्ञान मात्र सत्य बन्दछ । अर्कोतर्फ, जब मानिसले ज्ञान उत्पादन गर्दछ र उक्त ज्ञानमाथि संकथन हुन्छ, तब शक्ति उत्पादन हुन्छ । शक्तिले सत्य निर्धारण गर्छ र सत्ता निर्माण हुन्छ, किनकि शक्तिको पृष्ठपोषणमा त्यो ज्ञान सत्य बन्न पुग्छ । 

ग्राम्चीका अनुसार समाजमा जसको दबदबा कायम हुन्छ, उसको ज्ञान नै सत्य बन्दछ । दबदबाभित्रै दबितको सहमति पनि हुन्छ । यसर्थ, दबदबा कायम रहन सहमतिको पनि उत्पादन वा पुनरुत्पादन हुनुपर्दछ । यसक्रममा दबदबा आफैँ शाश्वतजस्तो हुन्छ, किनकि यसले आफैँ आफ्नो निमित्त सहमति उत्पादन गर्ने कारखाना पनि चलाउँछ । यता, ड्यारिडाको निमित्त भने ज्ञान तथा सत्य व्यक्त हुने वा बुझाउने शब्दले हो र शब्द आफैँले चाहिँ अर्थ बोक्दैन । शब्द त फगत वाचक तथा अभिव्यञ्जनाबीचको सम्बन्धको सापेक्षमा जीवत रहन्छ । अभिव्यञ्जना नरहे वाचक पनि रहँदैन । अभिव्यञ्जनाको अनुपस्थितिमा वाचक अर्थशून्य हुन्छ । 



(क) हिन्दुराज्य अवधारणा 

नेपालमा हिन्दु जात (वर्ण) प्रणालीसँग जोडेर शक्ति सर्वसञ्चित गरिएको थियो । झिनै मात्रामा भए पनि यो आजसम्म कायम छ । सामाजिक नियम बहिष्करणात्मक थियो, किनकि यसले धर्मविधिको शुद्धता तथा अशुद्धताको अवधारणा प्रयोग गर्थ्याे । हिन्दु वर्णव्यवस्थाको रुपरेखा खिचेर सबै समूहलाई विशिष्ट जातको रुपमा तहीकरण गरिएको थियो । 



पुरोहित ब्राह्मणहरु सबैभन्दा माथि थिए । उनीहरुको ठीक मुन्तिर क्षत्रिय (राजा र योद्धाहरु), त्यसपछि आउँथे, वैष्य (व्यापारी) र शूद्र (किसान र मजदुर) । सबैभन्दा तल पेसागत समूहहरु थिए । ‘अशुद्ध,’ र ‘अछुत’ मानिएको त्यही समुदायले हाल आफूलाई दलित भन्दछ । पहाडमा माथिल्लो दुई दर्जा (पुरोहित र योद्धा) तथा सबैभन्दा तलको (‘अछुत’) तह आप्रवासी कौकसिएन स्टकको हिन्दुहरुद्वारा भरिएको थियो । उनीहरु भारोपेली–आर्य भाषा बोल्दथे । आधुनिक नेपाली भाषा यही भाषाबाट जन्मेको हो । बीचको दर्जा साधारणतया मङ्गोल नश्लका आदिवासी समूहहरुको निमित्त राखिएको थियोे । हिन्दुहरुद्वारा मतवालीको रुपमा वर्गीकरण गरिएको यो समूह साधारणतया भोट–बर्मेली भाषा बोल्दछ र बौद्ध वा विभिन्न झाँक्री तथा प्रकृतिपूजक धर्महरु मान्दछ ।

‘शाह–राणा काल (ई.सं. १७६८–१९५१) मा नेपालमा सामन्ती शासनको बराबरीमा आउने कुनै राजनीतिक तथा आर्थिक शक्ति थिएन । त्यसैले, भिन्नै शक्तिले भरथेग गरेका वैकल्पिक ‘संस्थाहरू’ वा सिद्धान्तहरू पनि थिएनन् । विशेषतः राणा कुलीनतन्त्रको शासन अवधिभर (ई.सं. १८४६–१९५१) नेपाली जात (वर्ण) प्रणाली र प्रभावी समूहको पितृसत्तात्मक लैंगिक प्रणालीलाई नै राज्यद्वारा सुदृढ गरी थप शक्ति प्रदान गरियो । यो शक्ति एकतृतीकरण र सामाजिक असमताले जरा गाडेको युग थियो । यस्तो अवस्था प्रतिस्पर्धी विश्व दृष्टिकोणको अनुपस्थितिमा बन्ने गर्दछ ।’

माथिकाे कथनले नेपाल राज्यको इतिहासकाे यथार्थ चित्रण गर्दछ । अब हामी यसको दार्शनिक पक्षको सिंहावलोकन गरौँ ।  

वैदिक हिन्दु दर्शनको सार ब्राह्मणवाद हो । अर्थात्, सबैथोक ब्रह्म हो, ‘सर्व खल्विदं ब्रह्म’ । सबै यसैबाट उत्पन्न हुन्छन्, यसैमा फर्केर लीन हुन्छन् : ‘अस्मादेव उद्भवन्ति; अस्मिन्नेव परावत्र्य लीयन्ते (तैत्तिरीयोपनिषद) । ईशवष्योपनिषदमा भनिएको छ, 

ॐ पूर्णमद: पूर्णमिदम पूर्णात् पूर्णमुदच्यते । 
पूर्णश्य पूर्णमादाय पूर्णमेवावसिष्यते ।।

त्यो पूर्ण छ, यो पूर्ण छ । त्यो पूर्णबाट यो पूर्ण आयो । त्यो पूर्णबाट यो पूर्ण हटाउँदा शेष पनि पूर्ण रहन्छ ।

यसमा पूर्णम् अदा (पूर्ण त्यो) भन्नाले ‘आत्मा’ बुझिन्छ, जसको सत्य ‘ब्राह्मण’ सृष्टिको ‘कारण’ हो । पूर्णम् ईदम् (पूर्ण यो) भनेको ‘कर्म’ हो । व्याकरणमा कर्ता, कर्म, क्रिया भएजस्तै सृष्टि पनि कर्ता, कर्म, क्रियाकै व्याकरणमा चल्छ । जहाँ कर्ता ‘ब्राह्मण’द्वारा कर्म प्रकृति–सृष्टी ‘क्रिया’ हुन्छ । 

वैदिक षड्दर्शन (सांख्य, योग, पूर्वमीमांसा, उत्तरमीमांसा, न्याय, वैशेषिक) को सार पनि यही हो । यही दार्शनिक मान्यता नै ब्राह्मणवाद हो र ब्राह्मणवाद पूर्णरूपेण आदर्शवादी विचार हो । 

ब्रह्माण्डीय प्रणाली (Cosmological Order): ऋग्वेदको पुरुषसूक्तमा त्यो परमात्मालाई ‘पुरुष’ भनिएको छ र त्यो विराट पुरुषको मुखबाट ब्रह्मज्ञानी (ब्राह्मण), पाखुराबाट शूरवीर (क्षत्री), तिघ्राबाट वितरण गर्ने (वैश्य) र गोडाबाट श्रमिक (शूद्र) वर्ग वा तिनको भाव प्रकट भए । भनिएको छः 

ब्रामाणोऽस्य मुखमासिद् बाहू राजन्यः कृतः । 
ऊरू तदस्य यद्वैश्यः पाद्म्यां शूद्रो अजायत: ।।१२।।

यो नै ब्राह्मणवादको विश्वदृष्टिकोण हो र उनीहरूद्वारा रचित सम्पूर्ण धर्मशास्त्रको आधार पनि यही हो ।

अँध्यारो पक्ष (Darker Side)

ब्राह्मणो जायमानो हि पृथ्वीव्याम् अधिजायते । 
ईश्वरः सर्वभूतानाम् धर्मकोशस्य गुप्तये ।।९९।।

ब्राह्मण अस्तित्वमा आउनु 
पृथ्वीमा जन्मले उत्तम हो, 
सम्पूर्ण प्राणीहरुको मालिक,
त्यो निधिको रक्षाको निमित्त जुन पवित्र धर्म हो ।।९९।।

राज्ञा परीक्षम् न यथा जायते वर्णशंकरः । 
तस्माद् राज्ञा विशेषण स्त्रियो रक्षतु श‌ंकरात् ।। 

राजाले परीक्षण गर्नुपर्दछ कि कहीँ वर्णशंकर घुलन नहोस् । 
त्यसकारण विशेषतः स्त्रीलाई घुलन हुनबाट सुरक्षित गर्नुपर्दछ ।।

अथ हास्य वेदम उपश्रिण्वतस त्रपूजतुभ्याम् श्रोत्रप्रतिपूरणम् उदाहरेणे जिह्वाच्छेदो धारणे शरीरभेदः ।।४।।

अब जुन शूद्रले वेद सुन्छ, त्यसको निमित्त दण्ड हो– उसको कान लाहा र फलामले भरिदिने । उसले (वेद) पाठ गर्यो भने जिब्रो काटिदिने । यदि स्मृतिमा (वेद) राख्दछ भने उसलाई मृत्युदण्ड दिने ।।४।।     गौतमधर्मसूत्र

(ख) विद्रोह

प्रतिपक्ष:
ब्राह्मणवादीहरू आफूलाई आर्य भन्छन् र अरूलाई अनार्य । त्यही कथित आर्यहरूको सत्यसम्बन्धी सिद्धान्तको पहिलो तथा सशक्त कटाक्ष चार्वाक ऋषिले गरे । ‘वैदिक धर्म मूल रूपमा’ नामक ग्रन्थमा चार्वाकको धारणालाई यसरी उद्ध्रित गरिएको छ :

अग्निहोत्रं त्रयो वेदास त्रिदण्डं भस्मगुण्ठनम् । 
बुद्घिपौरूषहीनानां जीविकेति बृहस्पतिः ।। 
अत्र चत्वारि भूतानि भूमिवार्यनलानिलाः ।
चतुर्भ्यः खलु भूतेभ्यश् चैतन्यमुपजायते ।। 
त्रयो वेदस्य कर्तारो भण्डधूर्तनिशाचराः । 
जर्फरीतुर्फरीत्यादि वैदिकानां वचः स्मृतम् ।। 
—सर्वदर्शनसंग्रह–चार्वाकदर्शन 

यस मतका अनुयायीहरू प्रत्यक्षलाई मात्रै प्रमाण मान्छन्; पृथ्वी, जल, तेज र वायु यी चार तत्व मात्रै मान्छन् । यिनै चार तत्वका संयोगले शरीर, इन्द्रिय र भोग्य विषय बन्छन् । यिनै तत्वका संयोगबाट भात र मर्चाको संयोगबाट जाँडमा मादकशक्ति जन्मेझैँ शरीरमा चैतन्य जन्मन्छ । चेतनाविशिष्ट शरीर नै पुरुष हो । शरीरभन्दा भिन्न आत्मा छैन । काम मात्रै पुरुषार्थ हो । मरण नै मोक्ष हो । यो लोकभन्दा अर्को स्वर्ग वा नर्क छैन, वर्णाश्रमधर्मका कर्मको फल छैन । मरेकालाई श्राद्धले तृप्ति दिँदैन । वेद भण्ड–धूर्त–निशाचरहरूले बनाएका हुन् । (कौण्डिन्न्यायन, शिवराज आचार्यः २०४५, ०६२) । 

चार्वाकको विचारलाई हामी प्रत्यक्ष भौतिकवादी भन्न सक्छौँ । यस विचारले अतिकाल्पनिक आदर्शवादी वैदिक ब्राह्मणवादको सिधै कटाक्ष गरेको छ । चार्वाकहरू पछि श्रमणहरूले पनि वैदिक धर्मविधानको कटाक्ष गरेका थिए । श्रमणहरू बौद्ध तथा जैन थिए । बुद्धले आफूलाई सधैँ नै महाश्रमण भन्नुहुन्थ्यो । 

दर्शन वा ज्ञानः
ब्राह्मणवाद श्रुतिबाट सुरु हुन्छ र प्रकट भएको शास्त्रसमेतमा परमार्थ सत् अन्तिर्निहित रहेको विश्वास गरिन्छ । यसको विपरीत बुद्धवाद मानव कर्मबाट सुरु हुन्छ । सत्य वा यथार्थ हुनुको वास्तविक बाटोको ज्ञान, मान्छे (अर्थात् बुद्ध) ले ठूलो प्रयत्न (वीर्य) पश्चात् प्राप्त गर्यो, त्यो कुनै विश्वास वा प्राधिकारद्वारा पालन गरिएको हुँदैन  । 

ये धर्मा हेतुप्रभवा हेतूँस्तेषाँस्तथागतोऽहृवदत् । 
तेषाञ्च यो निरोध एवंबादी महाश्रमण ।। 

अर्थात्, जुन धर्महरू हेतु (र प्रत्ययबाट) उत्पन्न हुन्छन्, तिनीहरूको हेतुहरूलाई र निरोधलाई तथागतले नै बताउनुहुन्छ । यस्तो मान्ने महाश्रमण हुन् । 

बौद्ध दार्शनिक बहसमा ‘धर्म’ भन्नाले वस्तु बुझाउँछ । त्यसरी नै ‘हेतु’ भन्नाले कारण बुझाउँछ । यसरी हेर्दा बौद्ध दार्शनिक मतअनुसार ब्रह्माण्डमा धर्महरू हेतुबाट उत्पन्न हुन्छ । यो चार्वाकवादभन्दा विकसित सिद्धान्त हो भन्ने पुष्टि हुन्छ, किनभने यसले वैदिक सृष्टिसम्बन्धी मान्यताको कटाक्ष मात्र नगरी उत्पत्तिको विज्ञानलाई दर्शाउने कोसिस गरेको छ र यसैबाट ‘प्रतित्यसमुत्पादवाद’ को दार्शनिक मान्यता विकास भयो । प्रतित्यसमुत्पादले मुख्यगरी वैदिक ईश्वरवादको प्रतिपक्ष अनिश्वरवाद, आत्मावादको प्रतिपक्ष अनात्मावाद तथा सृष्टिवादको प्रतिपक्ष हेतुप्रत्ययवाद सिद्धान्तहरूको प्रतिपादन गरेको छ । नागार्जुनकृत मूल मध्यमकारिकामा भनिएको छः 
अनिरोधमनुत्पादमनुच्छेदमशाश्वतं । 
अनेकार्थमनानार्थमनागमनिर्गमं ।। 

न निरोध, न उत्पादन, न उच्छेद, न शाश्वत, न त अनेक अर्थ, न त अनर्थ, न त आगमन, न त निर्गमन ।

यसमार्फत नागार्जुनले बौद्ध शून्यवादको दर्शनलाई दर्शाएका छन् । उनका अनुसार ब्रह्माण्ड केवल हेतु–प्रत्यय हो । यसर्थ, ब्रह्माण्डलाई शास्वत वा उच्छेद याेनी हो वा होइन, छ वा छैनजस्ता अतिद्वैत व्याख्या गर्न सकिन्न, किनकि न यो निरोध छ; न उत्पादन छ । न उत्छेद छ; न शाश्वत छ । न अनेकार्थ छ; न अनानार्थ छ । न आगमन छ; न निर्गमन छ । छ त केवल प्रतित्यसमुत्पाद छ । 

चत्वारि आर्य सत्यःदुःख, अनित्य, अनात्मा, शून्य ।

दुःख के हो ?
सत्य अबोध ।
सत्य के हो ?
अनित्य, अनात्मा, शून्य ।
नित्य, आत्मा, पूर्ण के हो ?
अज्ञान । 

यसर्थ बुद्धले विद्रोह गर्नुभयोः

न जच्च ’ब्राह्मणो’ होती, न जच्च होती ’अब्राह्मणो’स 
कम्मना ’ब्राह्मणो’ होतीस कम्मना होती ’अब्राह्मणो’ ।।५१।।

न जन्मद्वारा कोही ब्राह्मण हुन्छ, 
न जन्मद्वारा कोही अब्राह्मण हुन्छ;
नैतिक कर्मद्वारा कोही ब्राह्मण हुन्छन्, 
नैतिक कर्मद्वारा कोही अब्राह्मण हुन्छन् ।।५७।।

शूद्रोपि शीलसम्पन्नो गुणवान् ब्राह्मणो भवेत् । 
ब्राह्मणोपि  क्रियाहीनस् शूद्रात् प्रत्यपरो भवेत् ।। 

शीलसम्पन्न तथा गुणवान् शुद्रसमेत ब्राह्मण हुनसक्छ । 
क्रियाहीन ब्राह्मण पनि शुद्रभन्दा तल हुन्छ ।।  

तर, ब्राह्मणवादीहरू भने चार्वाक तथा बौद्धहरूलाई ‘नास्तिक’ भन्छन् भने आफूलाई ‘आस्तिक‘ । यसर्थ, नास्तिकहरू ‘विधर्मी’ भए । यहाँ हेरौँ;

श्रेयान् स्वधर्मो विगुणः पराधार्मात् स्वनुष्ठितात् । 

विगुण भए पनि अरुको धर्म राम्रो पालन गर्नुभन्दा एउटाको आफ्नै धर्म उत्तम हो । 
–महाभारत

स्वधर्मितक्रमेण  च  यन  क्षत्रियण  सता  प्रवक्त्रित्त्वप्रतिग्रहौ  प्रतिपन्नौ  स  धर्मम्  
अविप्लुतम्  उपदेक्षतीति  कः  समाश्वासः ....
बुद्धादेः  पुनर  अयम  एवं  व्यतिक्रमोलंकारबुद्धौ स्थितः, एनैवम  आह–

कलिकलुशकृतानि  यानि  लोके    
मयि  निपतन्तु  विमुच्यताम् तु लोकः, इति  

स  किल  लोकहितार्थम्  क्षत्रियधर्मम्  अतिक्रम्य  ब्राह्मणवृत्तम्  प्रवक्त्रित्वम्  
प्रतिपद्य,  प्रतिशेधातिक्रमासमर्थैर  ब्राह्मणैर  अननुशिस्तम्  धर्मम्  बाह्यजनान  
अनुशासद्धर्मपीदाम्  अप्यात्मनोङ्गिकृत्य   परानुग्रहम्  कृतवान  इती  एवंविधैर  एव  
गुणैः  स्तुयते  ।।।   

‘त्यो मानिस जो एक क्षत्रिय भएर आफ्नै कर्तव्यबाट च्युत (पाप) हुँदै एउटा गुरूको कृत्य र दान स्वीकार गर्ने अधिकार ग्रहण गर्यो, सत्य धर्म सिकाउने छन् (रे)’ — उनमा के भरोसा राख्न सकिन्छ ?... यसबाहेक, बुद्ध तथा अरूको त्यस्तो कर्तव्य च्युतताको बारेमा अलंकारबुद्धिमा यस्तो उल्लेख भएको छः

‘कलियुगको पापको नतिजा,
जुन यो संसारमा हुन पुगेको छ,
ममाथि परोस्,
तर, मानिसहरू मुक्त होऊन् ।’

“ऊ [बुद्ध] प्रशंसित छ यस्तो गुणको कारणः ‘संसारको हितको निमित्त क्षत्रियको रूपमा आफ्नै कर्तव्यच्युत गर्दै, ब्राह्मणको निमित्त निश्चित गरिएको कृत्य धारण गर्दै, चंडाललाई धर्म सिकायो, निषेध (त्यस्तो चिज गर्नः असुद्ध वर्णका सदस्यलाई सिकाउन) तोड्न असमर्थ ब्राह्मणले नसिकाएका; उनले अरूलाई कृपा गर्यो, उनको आफ्नै धर्मसमेत उल्लंघन गर्ने (दोष) सहँदै ।’

(ग) नैतिक प्रश्नः

धर्म–दर्शनभित्र पवित्र र अपवित्र अर्थात् धर्मी र विधर्मीको दुई ध्रुव हुन्छ । यसैको आधारमा मानव कार्यहरुमाथि नैतिक प्रश्न खडा गरिन्छ । नैतिकताको प्रश्नले मानव कार्यको धार्मिकता वा पवित्रतालाई पर्गेल्छ । मानिसले जब आफूलाई भन्दा अरुलाई केन्द्रमा राखेर कर्म गर्छ, त्यो नैतिक कार्य ठहरिन्छ । यसको विपरीत यदि मान्छेले आफूलाई केन्द्रमा राखेर कार्य गर्दछ भने त्यो अपवित्र वा विधर्मी मानिन्छ । यसर्थ, धर्मी वा पवित्र कार्य हुनको निमित्त त्यहाँ प्रेम, करुणा, सहनशीलता, क्षमा आदि तत्व हुनु अनिवार्य हुन्छ । यस्ता गुण आफूबाहेक अरुलाई केन्द्रमा राख्दा मात्र हुन सक्छ । आफूलाई केन्द्रमा राख्यो भने घृणा, रिस, असहिष्णुता, दण्ड आदि तत्वहरु आउँदछन् । 

बुद्ध शिक्षामा बाहेक हिन्दु, ख्रिष्टियन, मुस्लिम, यहुदी आदि प्रमुख धर्म–दर्शन परम्परामा मात्र होइन सेक्युलर दर्शनहरु जस्तै उदारवाद र मार्क्सवाद समेतले स्व–प्रेम (Love to Self) लाई ग्राह्यता दिन्छ । किनकि, उनीहरुको निमित्त आत्मा (Self) पवित्र (Pure) छ र त्यो मात्र सत्य (Ontology) हो । यसर्थ, ज्ञान (Epistemology) को कार्य त्यसलाई चिन्नु र माया गर्नु हो । बौद्ध मतअनुसार यसले ‘आत्माग्राह’ बढाउँछ र परिणामतः जे जसलाई पवित्र वा नैतिक मानिन्छ वास्तवमा ती सबै अपवित्र र अनैतिक हुन्छन् ।  

नेपालमा हिन्दु विधिविधानको प्रचलन भारतबाट मुसलमान शासकको आक्रमणबाट बच्न भागी आएका हिन्दु शासकहरूद्वारा सुरुवात गरिएको हो । यसक्रममा सर्वप्रथम लिच्छवि शासक तत्कालीन महासामन्त अंशुवर्माले हिन्दु सामाजिक प्रणाली तथा न्याय विधिप्रति आफ्नो पूर्ण विश्वास अभिव्यक्त गरेका थिए । त्यसरी नै खस राज्यका राजा पूण्य मल्लले आफ्नो ताम्रापत्रमा पुरातन हिन्दु विधिदाताहरू जस्तैः गार्ग्यायण, गौतम, हारित, आपस्तम्भ आदिको धर्मशास्त्रसँग परिचित रहेको जनाएका छन् ।

यता काठमाडाै‌ं उपत्यकामा राजा जयस्थिति मल्लले हिन्दु धर्मशास्त्रमा आधारित विधान ‘स्थिति’ जारी गरेका थिए । गोर्खाका राजा राम शाहले आफ्नो सानो ग्रामीण राज्य सञ्चालनको खातिर केही नियमहरू लागू गरेका थिए, जुन हिन्दु धर्मशास्त्रमा आधारित थियो । पृथ्वीनारायण शाहले भने आफ्नो जीवनकालमा कुनै कानुन जारी गर्न नपाएको र सो कुराप्रति उनी ज्यादै दु:खित रहेको कुरा उनको कथित ‘दिव्योपदेश’मा उल्लेख छ । तैपनि, उनले नेपाललाई असली हिन्दुस्तानको रूपमा देख्ने सपना आफ्नो सन्ततिलाई प्रकट गरे । उनका सन्ततिहरूले नेपाललाई असली हिन्दुस्तान बनाउने उनको इच्छालाई भने जोडदार अघि बढाए । डा. हर्क गुरुङको भनाइ छः 

अठारौँ शताब्दीमा विविध जातिय भौगोलिक खण्डहरू बीचबाट एउटा (हिन्दु अधिनायक नेपाल राज्य निर्माण गर्दा एउटा धर्मतान्त्रिक वा ईश्वरतान्त्रिक आधार रहेको थियो । प्रारम्भिक रूपमा मुगल डर, त्रास विरुद्धको हिन्दु आश्रयको रूपमा गर्भधारण गरिएको त्यस्तो खाले राज्य सिद्धान्त भारतमा ब्रिटिस शासनको विस्तारपश्चात् थप जरा गाड्न सफल भयो । ब्राह्मण कट्टर प्रभुत्व त्यसखाले विदेशी धर्महरू विरुद्धको प्रतिरोधकको रूपमा उठायो र यसरी हिन्दुकरण (पर्वते, नेपाली) भाषा तथा पहाडी (पर्वते उच्च वर्णको प्रतिविम्बमा आधारित राष्ट्रिय पहिचान सहितको नेपाली राज्यको अस्तित्वको कारण (raison d'etre) बन्न गयो  (गुरूङ हर्कः २००५) । 

यस्तो राज्यले पुर्वावस्थाका स्वतन्त्र, सार्वभौम, सहिष्णु, समानतामा आधारित बहुलराष्ट्रहरूको राष्ट्रिय पहिचान, स्वतन्त्रता, सार्वभौमिकता तथा उनीहरूको आफ्नै मौलिक समतामूलक सत्ताको उन्मूलन गरिदियो ।

बुद्धिज्म, ’एउटा धर्म जुन एसियाली मानववादको उच्चतम अभिव्यक्ति हो भनी दाबी गरिएको छ, जुन मध्य तथा सुदूरपूर्वका मुलुकहरुभर फैलियो, सामाजिक रीतिथिति, कला तथा साहित्य शोधन गर्दै, पूर्वाग्रह तथा गलत बुझाइहरु साफ पार्दै, वर्ण (जात) को जन्जिर ध्वंश गर्दै र सम्पूर्णको निमित्त शान्ति तथा मुक्तिको वाचा गर्दै जसले आदिम नेपाली समाजलाई सभ्यताको बिहानीतर्फ डाेर्यायो’, यसको आफ्नै जन्मदेशमा भने यो पूर्ण रुपले हरायो । (Gnoli, 1984: 19)

लेखक ‘नेपालमा सिमान्तीकरणविरुद्ध अभियान (समान)’ र  ‘सामाजिक–सांस्कृतिक अनुसन्धान केन्द्र (एससिआसी)’ काठमाडौंमा आबद्ध छन् ।

FootNote:

[१] In Nepal power was consolidated by interlinking it with the Hindu caste system, which, though diluted, remains even today. The social order was exclusionary because it classified all groups as distinct castes within the broad framework of the Hindu system of the four varnas based on concepts of ritual purity and pollution. The priestly Brahmans were at the top with the Kshatriya (kings and warriors) just beneath them; next came the Vaishya (merchants) and the Sudra (peasants and labourers). Beneath everyone were occupational groups, considered ‘impure’, and ‘untouchable’ or achut who now call themselves the Dalits. In the Hills the top two ranks (priest and warrior) and the lowest (‘untouchable’) rank were filled by the in-migrating Hindus of Caucasian stock who spoke an Indo-Aryan language on which modern Nepali is based. The middle rank was accorded to indigenous groups, generally of Mongoloid racial stock. These groups—classified by the Hindus as Matwali or liquor drinkers—generally spoke Tibeto-Burman languages and followed Buddhism or various shamnist/animist religions (Lynn Bennet, World Bank Conference December 12-15, 2005).

[२] During the Shah-Rana era (1768-1951), Nepal had no alternative ‘institutions’ or ideologies backed by any economic and political power equivalent to the feudal regime. Especially during the rule of the Rana oligrchy (1846-1951), the Nepali caste system and the patriarchal gender system of the dominant group were reinforced by the state. It was an era of consolidation of power and entrenchment of social inequity that can occur in absence of competing world views (Ibid.).

[३] If Brahmanism begins with the Shruti, with a revealed Text, believed to contain the Ultimate Truth, Buddhism on the contrary starts with a human act: the knowledge of the true way of being of reality, a discovery attained by a man, the Buddha, after great efforts (virya), not adhered to by authority or belief.

[४] Buddhism, ‘a religion which has been acclaimed as the highest expression of Asiatic humanism, which spread throughout the countries of the Middle and Far East, refining customs, art and literature, wiping out misunderstanding and prejudice, shattering the bond of caste and promising peace and redemption for all; the religion which led primitive Nepali society to the dawn of civilization’, lost out completely in the land of its birth (Gnoli, 1984: 19)

  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार १८:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया