हरेक चुनावमा खानेपानी मुख्य एजेण्डा, नेता चुनाव जितेर फर्किन्छन् बाचा बिर्सिन्छन्
वर्षौँदेखि खानेपानीको समस्या जस्ताको त्यस्तै

प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन हुने दिन नजिकिँदै छ । निर्वाचनमा मत आफ्नो पक्षमा ल्याउन राजनीतिक दलका नेताहरू मतदातालाई अत्यावश्यक पूर्वाधारका एजेण्डाहरु अघि सारेर घरदैलोमा पुगिरहेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार जस्ता नारालाई आफ्नो चुनावी एजेण्डामा उतारेर गाउँ/गाउँ पसिरहेका छन् । 

बागमती प्रदेशको राजधानी हेटौंडा बजारकै नागरिकहरूलाई खानेपानीको चरम अभाव छ । दशकौँदेखिको उक्त समस्यालाई यस पटक पनि उम्मेदवारहरूले आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडा बजारको पश्चिमतर्फ राप्तीपुल छ । सोही पुलबाट सुरु हुने हेटौंडा ११ को सिमलटार टोल, जुन हेटौंडा बजारबाट डेढ किलोमिटर मात्रैको दूरीमा पर्छ । विशेष गरी सुकुम्वासी बस्तीहरू धेरै रहेको यहाँ बस्ती बसेको तीन दशक भन्दा धेरै समय भइसकेको छ । प्रदेशको राजधानीमै रहेको यस टोलका ५ हजार भन्दा धेरै घरधुरीका नागरिकहरूले अहिलेसम्म खानेपानीको पाइपमा आएको पानी पिउन पाएका छैनन् ।  यसअघिका धेरै निर्वाचनमा खानेपानीको धारो ल्याइदिन्छु भनेर आश्वासन दिनेहरूको अहिले पनि सोही आश्वासन बोकेर बस्ती पुग्न थालेका छन् । 

‘हामी यो ठाउँमा बस्न थालेको १०/१२ वर्ष भयो । नेताले पाइपमा खानेपानी आउँछ भन्ने गरेको पनि धेरै भइसक्यो । खै अहिलेसम्म खानेपानी आउने सुरसार नै छैन । चुनाव लाग्यो अब भोट माग्न आउनेको लर्को सुरु भैसकेको छ । भोट माग्न आउने सबैले यहाँको समस्या खानेपानी रहेछ । मैले जित्ने बित्तिकै पहिलो काम यहाँ खानेपानी ल्याउँछु भन्छन् । भोट दिँदैमा केश फूले तर कहिल्यै आएन खानेपानीको धारो । जितेपछि कसैले पनि फर्केर हेरेका छैनन्,’ ५५ वर्षीय स्थानीय कान्छीमाया श्रेष्ठले भनिन् ।

सिमलटार, तल्लो थानाभर्याङ, माख्लो थानाभर्याङ, गोल्पिङटार र सागरपथ गरी पाँच वटा टोल विकास संस्थाका नागरिकहरूले समस्या भोगिरहेका छन् । ४० देखि ५० फिट तलबाट तानेको पानी ट्युवेलधाराको सहारामा गुजारा चलाइरहेका छन् । कपडा धुन, भाडा माझ्नदेखि पिउनको लागि पनि ट्युववेलको पानीकै सहारा लिन परिरहेको छ । 

हेटौंडा उपमहानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा हेटौंडाका नागरिकहरूलाई बार्षीक १० हजार लिटर खानेपानी सित्तैमा उपलब्ध गराउने निणर्य गरेकोमा पानीको धारो समेत पुर्‍याउन नसकेको प्रति भने उपमहानगरपालिकाको ध्यान पुग्न नसकेको गुनासो बढ्दो छ । पाँच वटा टोल विकास संस्था रहेको यहाँका नागरिकहरू चुनाव आएसँगै उम्मेदवारहरूसँग खानेपानीको अपेक्षा सुनाउने गरेका छन् । तर गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि खानेपानीको धारोको माग राखेका यहाँका स्थानीय अहिले पनि ट्युवेलकै पानीले आफ्नो जीविका चलाउन बाध्य छन् । 



खानेपानी ल्याउनको लागि टोल विकास संस्थाहरूले पनि पहल गरिरहेका सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर बताउँछन् । लामो समयको प्रयासले अब भने केही बर्ष भित्र खानेपानीको पाइप टोल टोलमा पुर्‍याउनको लागि खानेपानी बोर्ड मार्फत काम सुरु गर्ने तयारी भइरहेको थापामगरले बताए । 

दशकौँदेखि समस्या भोग्दै आइरहेका उनीहरूको लागि उपमहानगरपालिकाले अबको केही समयमा धारो ल्याउने पहलमा जुटिरहेको बताएको छ । यसअघि उक्त समस्यालाई हल गर्न नसकेको स्वीकार गर्दै अब भने खानेपानी ल्याउनको लागि काम अघि बढिसकेको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहाल बताउँछिन् । ‘११ नम्बर वडाकै ठुलो समस्याको रूपमा रहेको थानाभर्याङ आसपासमा खानेपानी छिट्टै उपलब्ध गराउने तयारीमा उपमहानगरपालिका लागिपरेको छ,’ दाहालले भनिन् ।



उक्त स्थानको खानेपानी समस्याको अन्त्य गर्न काम भइरहेको खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडाका कार्यालय प्रमुख सुदर्शन ढकालले बताए । डिपिआर निर्माण गरेर संघीय सरकारको ७० प्रतिशत लगानी र बोर्डको ३० प्रतिशत लगानीमा काम सुरु गर्ने निर्णय सँगै २०८५ सालसम्ममा पानीको धारो उपलब्ध गराउने बोर्डको दाबी छ । संघीय सरकार र बोर्डको समझदारीमा उक्त स्थानसहित हेटौंडाको अन्य वडाहरूमा समेत खानेपानी उपलब्ध गराउने दाबी गरेको हो ।  

  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १३:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया