महिना दिन लामो नेपाल भ्रमणमा नेपथ्य

लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साङ्गीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटका साथ आफूलाई एक महिना लामो देशव्यापी यात्रामा प्रस्तुत गर्ने भएको छ । आगामी मङ्सिर १६ गतेदेखि पुस १६ गतेसम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्यान्डले यसैपालादेखि नयाँ अठोटका रूपमा ‘मानवता प्रवर्द्धन अभियान’ मा सहभागी हुँदै छ ।

यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरू नेपथ्यकै सक्रियता एवं सहभागितामा अघि बढेको थियो । यस्ता अभियानमा श्रोताहरूका प्रिय ब्याण्ड नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अर्थ्याउने प्रयास पनि गर्थ्यो ।

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्ध विरोधी आवाजमा समेत रूपान्तरण गर्दै आएको नेपथ्यले अब भने ‘मानवताको लागि सङ्गीत’ मार्फत मानवीय आयामहरूलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो । यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ ।

घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसहरूको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ । यो संस्थाले तीन वर्ष भित्रमा सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ ।‘मानवताको लागि सङ्गीत’ कार्यक्रमको पहिलो प्रस्तुति विराटनगरमा हुनेछ । मङ्सिर १६ गते शुक्रबारका दिन त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ । मङ्सिर १९ गते वीरगन्जको ‘आदर्श नगर रंगशाला’मा ब्याण्ड प्रस्तुत हुनेछ । त्यसैगरि मङ्सिर २२ गतेका दिन हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा लोक रक गीतहरू सुनाइनेछन् ।

हेटौंडा मानव सेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो । त्यहाँबाट विस्तार भएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ ।‘साङ्गीतिक क्षेत्रमा लागेका संस्थाहरूमध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक बल अत्यन्त उच्च देखिएकै कारण हामी सहकार्यका लागि हौसिएका हौँ’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘यो सहकार्यले हाम्रो अभियानमा मुलुकभर विशेषतः तन्नेरी पुस्तालाई जोड्न महत्त्वपूर्ण योगदान मिल्ने अपेक्षा गरेका छौँ ।’



हेटौंडापछि २५ मंसिरका दिन नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ । मङ्सिर महिनाको अन्तिम सो भने नेपालगन्जमा २९ गतेका दिन आयोजना गरिनेछ । त्यसपछि पुसको ३ गते ब्यान्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ ।

त्यसपछि थोरै मास्तिर उक्लेर ब्यान्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरू सुनाउनेछ । त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा आफूलाई पुस ९ गते प्रस्तुत गर्नेछ ।



त्यसपछि नेपथ्य यात्राले ब्याण्डलाई उसको ‘होम ग्राउण्ड’मा प्रवेश गराउनेछ । पुसको १२ गते मंगलबारका दिन ब्यान्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने भएको छ ।

यसरी मुलुकका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ । काठमाडौंमा भने पुस १६ गते शनिबारका दिन भृकुटी मण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ ।  नेपथ्यले यसभन्दा अघिल्लो पटक पनि काठमाडौंका श्रोता दर्शकसामु आफूलाई भृकुटी मण्डपमै उभ्याएको थियो ।

ब्यान्डले यी प्रदर्शनहरू मार्फत बेसहारा बन्न पुगेका नेपालीहरूको आवाज बनिदिने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा समेत हातेमालो गर्नेछ । ‘हामीले गीत सङ्गीत मात्र नभई सामाजिक दायित्वलाईसमेत अभिभाराका रूपमा उठाउँदै आएका छौँ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नुनपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मन पराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्न लागेका छौँ ।’

द्वन्द्व कालमा साङ्गीतिक कार्यक्रम लिएर देशव्यापी यात्रा गर्दा ठाउँ ठाउँमा मानसिक सन्तुलन गुमाएका मानिसहरू अलपत्र परेको दृश्यले अमृतलाई नरमाइलो लाग्थ्यो । अब भने त्यस्ता नेपालीहरूको उद्धारमा खटिएको संस्थासँग हातेमालो गर्न पाउँदा मनमा सन्तोष लागेको उनी बताउँछन् । यो अभियानसँगै अब नेपथ्यका गीतहरू ‘मानवताको लागि सङ्गीत’ बन्न पुगेको अमृतको धारणा छ ।

नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो । मुलुकभरका कन्सर्टहरुको आयोजक मानव सेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रहरुले ती–ती स्थानमा यसलाई सघाउनेछन् । ‘हामीले सबैतिर उच्चस्तरको प्रविधिसहित खुला आकाशमुनी सो आयोजना गर्नलागेका छौँ,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘एकातिर यसले सर्वत्र एकरुपता झल्काउनेछ भने कतिपय स्थानमा यस किसिमको पहिलो मञ्चका रूपमा पनि स्थानीय श्रोता दर्शकले कन्सर्टको आनन्द लिन पाउने छन् ।’ 

  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १५:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया