आठौं संस्करणको आइसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदैछ । आज हुने सुपर–१२ को समूह ‘एक’ अन्तर्गतको पहिलो खेलमा श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन् ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान ९:४५ देखि ब्रिसबेनमा सुरु हुनेछ । दुवै टोली आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
दुवै टोलीको सेमिफाइनल सम्भावना भने निकै कम छ । श्रीलंका ३ खेलमा २ अंकका साथ पाँचौं स्थानमा रहँदा अफगानिस्तान पनि समान खेलबाट समान अंकका साथ पुछारमा छ ।
यसअघि आयरल्याण्डलाई ९ विकेटले हराएको श्रीलंकाले अस्ट्रेलियासँग ७ विकेट तथा न्युजिल्याण्डसँग ६५ रनको हार बेहोरेको थियो ।
इंग्ल्याण्डसँग ५ विकेटले पराजित अफगानिस्तानले वर्षाका कारण खेल हुन नसकेपछि न्युजिल्याण्ड र आयरल्याण्डसँग अंक बाँडेको थियो । ब्रिसबेनमै नेपाली समयअनुसार दिउँसो १:४५ मा हुने दोस्रो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।
इंग्ल्याण्ड आज जित हात पार्दै सेमिफाइनल सम्भावना जिवितै राख्न चाहन्छ । न्युजिल्याण्ड पनि जित हात पार्दै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने सोचमा छ ।
इंग्ल्याण्ड ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा रहँदा न्युजिल्याण्ड समान खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा छ । यसअघि अफगानिस्तानलाई ५ ले हराएको इंग्ल्याण्डले आयरल्याण्डसँग ५ रनको पराजय बेहोरेको थियो ।
त्यस्तै, उसले वर्षाका कारण खेल हुन नसक्दा अस्ट्रेलियासँग अंक बाँड्यो । अस्ट्रेलियालाई ८९ तथा श्रीलंकालाई ६५ रनले पराजित गरेको न्युजिल्याण्डले वर्षाका कारण खेल हुन नसक्दा अफगानिस्तानसँग अंक बाँडेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।