बागमती प्रदेश : निर्वाचन नसकिँदै मुख्यमन्त्रीको दाैडमा तीन नेता

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अहिले उम्मेदवारहरू मतदातामाझ प्रस्तुत भइरहेका छन् । ४ मंसिरमा हुने चुनावका लागि बागमती प्रदेशका १३ वटै जिल्लामा पनि राजनीतिक सरगर्मी तातिरहेको छ । 

चुनावी बहस बढिरहेको समयमा आगामी मुख्यमन्त्रीको बारेमा पनि चर्चा जारी छ । बागमती प्रदेशले पहिलो कार्यकालमा तीन मुख्यमन्त्री पायो । बागमतीले पाँच वर्षको अवधिमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे गरी तीन मुख्यमन्त्री पाएको हो । पहिलो कार्यकालमा यी तिनै मुख्यमन्त्रीले सन्तोषजनक काम गर्न नसकेको प्रदेशवासीको गुनासो छ ।

पहिलो कार्यकालमा मुख्यमन्त्री बनेकाहरूले धेरै काम अधुरै छोडेका छन् । अब आउने नयाँ मुख्यमन्त्रीसमक्ष अधुरा काम पूरा गर्नुका साथै थप नयाँ काम गर्नुपर्ने चुनौती छ । निर्वाचनपछिको बागमती प्रदेशको मुख्यमन्त्रीमा अहिले तीन नेताको नाम चर्चामा छ । 

इन्द्रबहादुर बानियाँ 

चुनावपछि बागतमी प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ शीर्ष स्थानमा छन् । एमाले विभाजनसँगै प्रदेश सरकार ढलेपछि सत्तारुढ गठबन्धनमा ६/६ महिनाको आलोपालोमा सरकारको नेतृत्व गर्ने लिखत सहमति भएको थियो । तर, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले ८ महिनापछि सरकारको नेतृत्व छोड्न मानेनन् ।

बागमती मुख्यमन्त्री परिवर्तनले अन्य प्रदेशमा पनि हलचल ल्याउला भन्ने केन्द्रको ठम्याँइले बानियाँलाई मौन बस्न लगाइएको चर्चा चलेको थियो । जसकारण पहिलो कार्यकालमा कांग्रेस नेता बानियाँ मुख्यमन्त्री बन्नबाट वञ्चित भए । 



आगामी निर्वाचनका लागि भने मुख्यमन्त्रीकै लागि बानियाँ प्रदेश सभा सदस्यको उम्मेदवार बनेको उनीनिकट नेता बताउँछन् । अघिल्लो कार्यकालमै मुख्यमन्त्री पाउनपर्ने उनले अबको कार्यकालमा भने मुख्यमन्त्री नछोड्लान् भन्ने अड्कलबाजी लगाउन सकिन्छ । 

सोहीअनुसार बानियाँ मकवानपुर २ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । ०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । सो निर्वाचनमा बानियाँ वाम गठबन्धनका राजाराम स्याङ्तानलाई १४ सय ११ मतले हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 



उनले १९ हजार २ सय ४५ मत र स्याङ्तानले १७ हजार ८ सय ३४ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा यो क्षेत्रमा ४० हजार ३ सय १२ मत खसेको थियो ।

शालिकराम जम्कट्टेल

सत्ता गठबन्धनकै घटक माओवादीबाट शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्रीको दौडमा छन् । उनी अहिले बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुन् । 

सत्ता गठबन्धन दलमा रहे पनि मुख्यमन्त्रीको लागि भने गठबन्धनभित्र नै प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्रकोतर्फबाट जम्कट्टेललाई नै मुख्यमन्त्री बनाउने योजना रहेकाले पनि पुनः उनी प्रदेशसभा सदस्यमै दोहोरिन खोजेका छन् । 

जम्कट्टेल प्रदेश सरकार गठन भएदेखि प्रायः सत्तामै छन् । एमाले–माओवादीको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । उनले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न पनि खोजे । तर, मुख्यमन्त्रीका रूपमा दाबी गर्न जम्कट्टेललाई पार्टीले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको माओवादी नेताहरू बताउँछन् ।

उनी यसपटक पनि धादिङ १ ‘ख’ बाट उम्मेदवार बनेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन निर्माण गरी भएको ०७४ को निर्वाचनमा जम्मरकट्टेलले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीसँग प्रतिस्पर्धा गरेका थिए । 

त्यतिबेला जम्कट्टेललाई एमाले र कांग्रेस उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन थियोे । सो निर्वाचनमा जम्कट्टेल २३ हजार ३ सय ८२ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी सुवेदीले १० हजार ४ सय ७ मत प्राप्त गरे ।   

सानुकुमार श्रेष्ठ

पाँच वर्ष बागमती प्रदेशको सभामुख पद सम्हालेका सानुकुमार श्रेष्ठ पनि आगामी कार्यकालका लागि मुख्यमन्त्री बन्ने लक्ष्यमा छन् । पहिलो कार्यकालमा संसद सञ्चालनमा अनुभव हासिल गरेका कारण पनि एमालेले श्रेष्ठलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा अघि बढाएको एमाले नेताहरू बताउँछन् । 

उनी आसन्न निर्वाचनका लागि काठमाडौंबाट प्रदेशसभा २ को (क) बाट उम्मेदवार । ०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका श्रेष्ठले ८ हजार ९ सय ३६ मतले ल्याएका थिए ।

यसपटकको निर्वाचनमा प्रमुख प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार रहेकाले जित हात पार्न उनलाई सहज भने छैन । 

  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १२:३८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया