गृहमन्त्री थापाले बुधबार संसदमा प्रश्नको सामना गर्ने

काठमाडाैं– गृहमन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज गृहमन्त्री रामबहादुर थापाले संसदमा प्रश्नको सामना गर्ने भएका छन् ।

प्रतिनिधि सभाले बुधबार गृहमन्त्री थापासँगको प्रश्नोत्तर कार्यसूचीमा राखेको छ। कञ्चनपुरकाे निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणलगायतका चार वटा विषयका प्रश्नमा मन्त्री थापाले जवाफ दिनेछन् ।

कांग्रेस सांसद डिला संग्रौलाले ‘निर्मला पन्तको हत्यारा पक्राउ नपरेको’ विषयमा दर्ता गराएकाे मौखिक प्रश्नमाथि थापाले जवाफ दिन लागेका हुन्। तर सम्बन्धित विषयमा सांसदहरूले पुरक प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधि सभा नियमावलीले गरेको छ।

याेसँगै भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्याका दाेषीमाथि प्रहरीले गरेको इकाउन्टरका विषयमा समेत थापाले संसदमा जवाफ दिँदैछन्। कांग्रेस सांसद देवेन्द्र कँडेलले उक्त विषयमा प्रश्न दर्ता गराएका थिए।

प्रहरी इकाउन्टरमा भक्तपुरको सूर्यविनायक जंगलमा अजय र गोपाल तामाङको मृत्यु भएको थियो। स्थानीयवासीले प्रहरीले दुवैलाई कोठाबाट जंगलमा पुर्‍याएर हत्या गरेको बताएपछि इकाउन्टर फेक भएको भन्दै प्रश्न उठेको थियो।

गृह मन्त्रीले ‘फेक इकाउन्टर’ नगरिएको दाबी गर्दै आएका छन्।



त्यस्तै, अछामको मंगलसेनका नमराज विष्टको हत्यारा पक्राउ नपरेको र मोरङ लेटाङको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको विषयमा समेत थापाले  जवाफ दिनेछन्। 

संसद सचिवालयले गृहमन्त्रीसँगै अर्थ, वन र महिला तथा बालबालिका मन्त्रालयका विषयमा सांसदहरूले दर्ता गराएको प्रश्नमाथि जवाफ दिने कार्यक्रम राखेको छ।



त्यस्तै, अर्थमन्त्री युवराज खतिवडाले नेपालका बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउँदा विदेशी मुद्रा बाहिरएको भन्दै रोक्न भइरहेको पहलबारे जवाफ दिँदैछन्। कांग्रेस सांसद डिला संग्रौलाले जवाफ माग्दै प्रश्न दर्ता गराएकी थिइन्।

त्यस्तै, कांग्रेसका दिलेन्द्र बडुले स्थानीय तहमा बैंकको शाखा नपुगेको विषयमा दर्ता गराएकाे प्रश्नमा खतिवडाले जवाफ दिनेछन्। वन मन्त्रालयलाई भने नेकपाका सांसद खगराज अधिकारीले पोखरामा प्राणी उद्यान बनाउने योजनाबारे प्रश्न दर्ता गराएका थिए। प्रश्नमा वन मन्त्री शक्ति बस्नेतले जवाफ दिनेछन्।

सांसद सरिता न्यौपानेले हिंसा पीडित महिलाका लागि सातै प्रदेशमा आवास निर्माणको प्रगति माग्दै प्रश्न दर्ता गराएकी थिइन्। जसमा महिला तथा बालबालिका मन्त्री थममाया थापाले जवाफ दिनेछिन्।

अहिलेसम्म संसद सचिवालयमा ८८ वटा मौखिक प्रश्न दर्ता भएका छन्। जसमा मन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्नेछ। त्यस्तै, सचिवालयमा २८ वटा लिखित प्रश्न दर्ता छन्। सबभन्दा धेरै लिखित प्रश्न सांसद प्रेम सुवालको छ।

उनले विभिन्न मन्त्रालयसँग सम्बन्धित १६ प्रश्र दर्ता गराएका छन्। संसद बैठक आज १ बजे बस्दैछ।

  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार ७:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया