कांग्रेसका बानियाँलाई स्वतन्त्र उम्मेदवार चेपाङको समर्थन

मकवानपुर क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका खुसीलाल चेपाङले सोही क्षेत्रका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै चेपाङले बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् ।
 
नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका चेपाङले आफूले पार्टी र गठबन्धनविपरीत जाँदा मुलुकमा लामो संघर्षबाट प्राप्त गणतन्त्र, संघीयताजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धिमाथि गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धतिमाथि नै घात हुने देखिएकाले उम्मेदवारी स्थगित गरी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिएको स्पष्ट पारे ।

उनले आफ्नो उम्मेदवारी स्थगित गरी गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर बानियाँलाई विजयी गराउनसमेत सबै शुभचिन्तकमा आग्रह गरेका छन् । ‘निर्वाचन आयोगमार्फत मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रुपमा आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधिसभा –२ को प्रदेशसभा (ख)मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु,’ चेपाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अबको दिनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफू पनि उम्मेदवारहरुसँगै घरदैलोमा क्रियाशील हुनेसमेत उनले जानकारी दिए । 

खुसीलालले आफ्नो उम्मेदवारी फिर्ता लिई गठबन्धनको अभियानमा साथ दिएको भन्दै मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाँले आभार व्यक्त गरे । ‘मुलुकको आवश्यकता र हितलाई मध्यनजर गरी खुसीलाल जीले गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्नुभएको छ । यो निकै महत्वपूर्ण निर्णय हो । म यसको स्वागत गर्दछु । उहाँको साथले महत्वपूर्ण सन्देश दिएको छ,’ बानियाँले भने ।

पत्रकार सम्मेलनमा गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार बानियाँसहित, मकवानपुर १ (क) की उम्मेदवार कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केश घलान, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौला, कांग्रेस राक्सिराङ उपसभापति मोहन नगरकोटीलगायतको उपस्थिति थियो ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार २०:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया