घरेलु प्रतियोगिता तथा उमेर समूहमा राम्रो खेलाडीका रूपमा आफूलाई स्थापित गराएका झापाका प्रवेश कटुवालले नेपालको सिनियर फुटबल टोलीबाट भने कहिले पनि खेल्न पाएनन् ।
सन् २००० को एसियाली यू–१६ च्याम्पियनसिप छनोट चरण पार गरेर खेलेका प्रवेश यू–२३ सम्मको टोलीमा स्थान बनाए पनि सिनियर टोलीबाट खेल्ने उनको सपना पूरा हुन सकेन ।
खेल्दाखेल्दै प्रशिक्षक कोर्स गरेका उनले घरेलु फुटबलमा भने आफूलाई अब्बल साबित गराइसकेका छन् । लगातार दुई पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेर प्रशिक्षकका रूपमा सबैभन्दा ठूलो उपलब्धि हात पारेका छन् ।
अहिले उनै प्रवेश कुटवालको राष्ट्रिय टोलीमा प्रवेश भएको छ । तर, फरक भूमिकामा । खेलाडीका रूपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने अवसर नपाए पनि उनले प्रशिक्षकका रूपमा टोलीको कमान्ड सम्हाल्ने अवसर प्राप्त गरेका छन् ।
नेपालले ३० कात्तिकमा त्रिपुरेश्वस्थित दशरथ रंगशालामा पाकिस्तान विरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ त्यसैका लागि प्रवेश नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाकिस्तानसँगको खेल पक्का भएसँगै मंगलबार ४२ वर्षीय प्रवेशलाई प्रशिक्षक नियुक्त गर्दै नियुक्ति पत्र समेत दिइसकेको छ । प्रवेशले ३० सदस्यीय प्रारम्भिक सूची सार्वजनिक गर्दै प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय टोली चुनौतीपूर्ण
राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्न सहज नुहुने विषयमा राम्रोसँग जानकार रहेका प्रवेशले यो चुनैतीपूर्ण रहे पनि आफू त्यसका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् ।
प्रवेशले एन्फा मिडियासँगको कुराकानीमा राष्ट्रिय टिम हेर्नु चुनौतीपूर्ण भए पनि आफू यो अवसरलाई गुमाउन नचाहेको बताए । ‘मलाई थाहा छ राष्ट्रिय टोली सम्हाल्नु एक चुनौतीपूर्ण काम हो र समयको कमीका कारण पाकिस्तानविरुद्ध खेल्न पनि गाह्रो हुनेछ तर यो त्यस्तो चीज हो जसलाई म गुमाउन चाहन्न । म अझ काम राम्रो गर्न चाहन्छु’, प्रवेशले भने ।
उनले पाकिस्तान लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्के पनि त्यहाँका खेलाडी विदेशमा खेलेकोले उसकोविरुद्ध खेल्न कठिन हुने पनि बताए ।
‘हामीलाई थाहा छ पाकिस्तान वर्षौँपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किरहेको छ तर तिनीहरूका खेलाडीहरू विदेशमा खेलिरहेका छन् । उ बलियो टोली हो र निश्चित रुपमा हामी तिनीहरूलाई हराउन चाहन्छौं,’प्रवेशले भने ।
गत जुनमा मात्र फिफाको निलम्बनबाट छुटकारा पाएको पाकिस्तानले भने नेपालसँगको खेलबाटै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ । पाकिस्तानले नेपालसँगको खेलका लागि नै एक महिना अघि देखि प्रशिक्षण गर्दै आएको छ। नेपालले भने जम्मा दुई साताको तयारीपछि नै खेल्नुपर्ने अवस्था छ ।
लगातार दुई पटकका लिग विजेता प्रशिक्षक
राष्ट्रिय टोलीबाट खेल्न अवसर नपाए पनि घरेलु फुटबलमा भने खेलाडी तथा प्रशिक्षकका रूपमा प्रवेशले सफलता हात पारेका छन् ।
खेलाडीका रूपमा उनले २०६१ सालमा थ्रीस्टारबाट लिग जितेका थिए । त्यसपछि उनले मनाङ मर्स्याङ्दी, रानीपोखरी कर्न टिम (आरसीटी) र मछिन्द्रबाट पनि शीर्ष लिग तथा झापा ११ बाट राष्ट्रिय लिग खेले ।
एएफसी ए लाइसेन्स कोर्स पूरा गरेपछि उनलाई २०७६ को लिगमा ‘ए’ डिभिजनका उत्कृष्ट क्लबबाट प्रशिक्षक बन्न अफर आए पनि प्रवेशले आफूले पछिल्लो पटक लिग खेलेको मछिन्द्र क्लब नै रोजे ।
मछिन्द्रले लिग जित्ने महत्वाकांक्षी योजना सहित ११ जना नाम चलेका खेलाडी का साथै प्रशिक्षकमा क्लबकै पूर्व खेलाडी प्रवेश कटुवाललाई भित्र्याएको थियो । प्रवेशसँग त्यसअघि ‘ए ’डिभिजन लिग खेलेको अनुभव भए पनि प्रशिक्षक तर उनीसँग शीर्ष लिगमा प्रशिक्षण गरेको अनुभव भने थिएन ।
प्रवेशले त्यसअघि मोफसलको झापा ११ को प्रशिक्षक भएर काम गरिसकेका थिए । एएफसी ए लाइसेन्स प्राप्त गरिसकेपछि प्रवेश कटुवालले शीर्ष डिभिजन क्लबको प्रशिक्षण सम्हाल्ने ठूलो अवसर पाए ।
स्टार खेलाडीको भरिएको मछिन्द्रलाई क्लब पदाधिकारी र प्रवेशले राम्रोसँग व्यवस्थापन गर्दै उपाधि यात्रा दिलाए । उनको प्रशिक्षणको पहिलो सिजन मछिन्द्रले एक अंक ऋणबाट लिग सुरु गरेको थियो र अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई क्लबलाई १–० ले हराएर क्लबले पहिलोपटक लिग उपाधि पनि उचाल्यो।
२०७५को बिना रेलिगेसनको लिगमा १३ औं स्थानमा रहेकाले मछिन्द्रको एक अंक घटाइएको थियो । त्यसपछि कोरोना महामारीका कारण एक वर्ष लिग भएन ।
२०७८ मा मछिन्द्रले थप केही नाम चलेका खेलाडी भित्र्याएर टोली बलियो बनायो । प्रशिक्षकमा प्रवेशले नै निरन्तरता पाए । उनको दोस्रो कार्यकालमा क्लबले अपराजित रहँदै लिग उपाधि रक्षा गर्न सफल भयो । अपराजित रहँदै लिग जित्ने मछिन्द्र पाँचौँ क्लब हो ।
यसअघि न्यूरोड टिम (एनआरटी),थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले यस्तै उपलब्धि हात पारेका थिए । प्रवेशले घरेलु प्रतियोगितामा त आफूलाई अब्बल प्रशिक्षकका रुपमा स्थापित गराइसकेका छन् तर राष्ट्रिय टोलीमा उनको प्रशिक्षण कस्तो हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।