अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत जिम्बाब्वेविरुद्ध नेदरल्याण्ड्स ५ विकेटले विजयी भएको छ । बुधबार भएको खेलमा जिम्बाब्वेले दिएको १ सय १८ रनको लक्ष्य नेदरल्याण्ड्सले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि ओपनर म्याक्स ओ’दाउदले ४७ बलमा आठ चौका र एक छक्कासहित ५२ सर्वाधिक रन बनाए । त्यस्तै, टम कूपरले ३२ र बासडी लीडेले अविजित १२ रनको योगदान दिए ।
जिम्बाब्वेका लागि रिचर्ड नाङ्ग्राले, ब्लेसिङ मुजराबानीले दुई/दुई र यूक जोङ्वे एक विकेट लिए । त्यसअघि एडिलेड क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनायो ।
उसका लागि सिकन्दर राजाले २४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । त्यस्तै, सेन विलियम्सले २८ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
नेदरल्याण्ड्सका लागि पउल भ्यान मेक्ररमले तीन, ब्रान्डन ग्लोवर, लोगान भ्यान बेक र बासडी लीडेले दुई/दुई र फ्रेड क्लासेनले एक विकेट लिए । आजको जितपछि पनि नेदरल्याण्ड्स सेमिफाइनलमा भने पुग्न सकेन ।
नेदरल्याण्ड्सले चार म्याच खेल्दा एकमा जित र तीन खेलमा हार बेहोरेको छ । त्यस्तै, जिम्बाब्वेले चारमध्ये दुईमा हार, एकमा जित र एक खेलमा बराबरी खेलेको छ । जिम्बाब्वे भने सेमिफाइनल दौडबाट बाहिरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।