ऐतिहासिक सम्पदाहरूको डिजिटल प्रोफाइल तयार गर्छु: ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाहरूको डिजिटल प्रोफाइल तयार गर्ने बताएकी छन् । सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएकी मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने बताइन् । 

बुधवार ललितपुर क्षेत्र नं. ३ को वाम–लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने पनि उल्लेख गरिन् । 

रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गरिने भन्दै मन्त्री भुसालले हस्तकला केन्द्रहरूको स्तरोन्नति गर्ने, पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने बताइन् । त्यस्तै स्थानीय हिटी, पोखरी, राजकुलो, ताल तलैयाको पुनः निर्माण, संरक्षण र उपयोग गरिने पनि उनले बताइन् ।
 
मन्त्री भुसालले निर्माणाधीन बागमती, नख्खु, कर्मनासालगायत कोरिडोर सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका निकायहरूबिच उचित समन्वयका लागि नीतिगत पहल गरिने बताइन् । अध्ययन सम्पन्न भएका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने उनको भनाई छ । 

उनले आफ्नो घोषणापत्रमा स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग/स्थानीय स्रोतको सामुदायिकीकरण गरिने, स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनको प्रवर्द्धन गरिने, जनसहभागितामुलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने र कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिने कुरा पनि समेटेकी छन् ।
 
उनले हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गरिन् । त्यस्तै महिला हिंसाको उन्मूलन र हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका हुने विषय पनि समेट्दै मन्त्री भुसालले ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने, क्लब र समूहलाई सबल तुल्याई परिचालन गर्ने पनि बताइन् । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १६:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया