वडा उपसभापति साहको आरोप - मेरै पार्टीका सदस्यका छोराले म माथि कुटपिट गर्‍यो

नेपाली कांग्रेस जनकपुरधामका एक वडा उपसभापतिले आफ्नै पार्टीका सदस्यका छोराले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का कांग्रेस उपसभापति रामबाबु साहले कांग्रेसका क्रियाशील सदस्य नगिना राउतका छोरा राहुल राउतले आफूमाथि कुटपिट गरेको आरोप लगाएका हुन् । 

बुधबार बिहान सोही वडाका वडाध्यक्षसमेत रहेका कांग्रेसका वडा सभापति जितबहादुर राउतले आयोजना गरेको पाँच दलीय गठबन्धनको बैठकमा वादविवाद हुँदा जितबहादुरका भतिजो राहुलले आफूमाथि हेलमेट प्रहार गरेको उपसभापति साहको दुखेसो छ । 

जितबहादुरको आफ्नै घरमा रहेको कांग्रेसको वडा समितिको कार्यालयमा आफूलाई बोलाएर पुरानो रिसिइबी साध्न नगिना राउतले आफ्नो छोरालाई उक्साएर आफूलाई कुटपिट गरेको बताएका छन् । उनले भने, ‘बैठकमा मैले आफ्नो भनाइ राखिरहेको क्रममा बिचमै उठेर नगिना राउतले तपाईंलाई पार्टीको बैठकमा किन बोलाउने? तपाईंले हामीलाई स्थानीय निर्वाचनमा सहयोग नै गर्नुभएन भने बैठकहरुमा किन बोलाउने? लगायतका प्रश्नहरू उल्टै मसँग गर्न थाल्नुभयो ।’

उपसभापति साहले आफू पनि पदाधिकारी रहेको र बोल्ने अधिकार आफूलाई पनि रहेकोले कसैले रोक्न नसक्ने कुरा बताइरहँदा बैठकको बिचबाटै नगिनाले आफ्नो छोरा राहुललाई निर्देशन दिँदै आफूमाथि कुटपिट गर्न लगाएको दुखेसो सुनाएका छन् । बैठककै बिचमा वडा सभापति जितबहादुरका दाई नगिनाले आफ्नो छोरा राहुललाई निर्देशन दिँदै वडा उपसभापति साहमाथि एक्कासी हातपात गर्न लगाएको  बैठकमा सहभागी एक नेताले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।

यता, यस सम्बन्धमा कांग्रेसका क्रियाशील सदस्य नगिना राउतले सो बैठकमा त्यस्तो केही नभएको प्रतिक्रिया दिएका छन् । उनले उपसभापति साहले बैठकको बिचमा अपशब्द प्रयोग गरेपछि सामान्य तानातान मात्र भएको बताएका छन् । 

धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिभिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवको जनकपुरधाम–१३ मा घरदैलो कार्यक्रमका लागि पाँच दलीय गठबन्धनले कांग्रेसको नेतृत्वमा सो वडामा भेलाको आयोजना गरेको थियो । सोही क्रममा विवाद भएको बताइएको छ । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १५:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया