एमालेसँगै हारेका कमल थापालाई एमालेकै भर, पूरा होला जित्ने रहर ?

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन आउन दुई हप्ता मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू अझ क्रियाशील ढङ्गले जनता माझ पुग्ने, मत फकाउने अभियानमा लागिपरेका छन् । उम्मेदवारहरूको दौडधुपसँगै मकवानपुरको चुनावी माहौल तातिएको छ । केही नाम चलेका हेभीवेट नेताहरूबीच हुने प्रतिस्पर्धाका कारण पनि मकवानपुरको चर्चा देश व्यापी नै हुने गरेको छ । चर्चा बटुल्ने पहिलो नाम मध्य को एक हो कमल थापा । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष थापा मकवानपुरको क्षेत्र नम्बर १ बाट नेकपा एमालेको समर्थनमा सूर्य चिन्हबाट निर्वाचनमा होमिएका छन् । टिकटको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा सँग लामो समयको लबिङ पछि मनोनयन दर्ताको दिन एमालेले थापालाई सूर्य चिन्हबाट निर्वाचनमा लैजाने टुङ्गो लागेको थियो । 

थापाले क्षेत्र १ का लागि टिकट पाए पछि एमाले कार्यकर्ता भित्र नै असन्तुष्टिको तरंग पैदा हुन पुग्यो । जसका कारण एमाले पार्टी कार्यालयमा एमालेकै असन्तुष्ट कार्यकर्ताहरूले ताला लगाइदिए । तर त्यो तालाबन्दी खुल्दा नखुल्दै थापाले सुटुक्क निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सूर्य चिन्हबाट क्षेत्र १ का लागि उम्मेदवारी दर्ता गराइदिए । 

पहिले एमालेकै कारण पराजित 

यसअघिका निर्वाचनहरूमा थापा एमालेकै कारण पटक–पटक पराजित भएका थिए । प्रजातन्त्र पुनः स्थापनापछि भएको पहिलो आमनिर्वाचन ०४८ मा पराजित भएका थापा ०५१ को मध्यावधि चुनावमा भने विजयी भएका थिए । 

थापा ०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र ०६२ को पूर्व राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् । ०४८ को निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । ०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए । त्यस बेला दाहालले २० हजार ४ सय ४२ मत पाउँदा थापाले १५ हजार ९ सय ८५ मत प्राप्त गरेका थिए ।



०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उम्मेदवार बनेका थापा तेस्रो भए । ०७० को संविधानसभा निर्वाचनमा उनी प्रतिस्पर्धामा उत्रिएनन् । उनले आफ्नो श्रीमतीलाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिक उम्मेदवार बनेका थिए । समानपातिकबाट सांसद बनेका उनी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने । 

०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका थिए । दाहालले ४० हजार ६ सय ३१ मत पाएर विजयी भएका थिए भने थापा ३४ हजार ६ सय ५८ मत ल्याएर पराजित भएका थिए ।



अहिले एमालेकै भर

 देशकै प्रभावशाली नेताको रुपले चिनिने थापाको आफ्नो पार्टीको जनमत न्यून छ । राप्रपा बाट अलग्गिएर बनेको राप्रपा नेपालमा पूराना केही कार्यकर्ताहरु छन् भने बाँकी सबै राप्रपामा नै छन् । यसको अर्थ थोरै जनमत रहेको पार्टीबाट पनि टुक्रिएर बनेको पार्टीलाई पाँच दलिय गठबन्धनसँग प्रतिस्पर्धा गर्न सम्भव हुने कुरा भएन ।

यो पनि पढ्नुहोस् : कमल थापा भन्छन् - जित्नकै लागि सूर्य रोजेको हुँ, विवादकाबीच पाउलान् एमाले मतदाताको साथ ?

 त्यसैले पनि थापा बाठो भएर बालकोट धाएर आफ्नो हातमा टिकट लिएरै छाडे । जिल्लाको ठुलो दलको रुपमा रहेको नेकपा एमालेको छत्रछायाँमा निर्वाचनमा होमिएका थापालाई जित्नको लागि एमाले मतदाताकै भरमा छन् । ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा गृह जिल्लामै एमालेका उम्मेदवार कृष्ण दाहाल सँग पराजित भएका थापा यस पटक एमालेसँगैको गठबन्धनमा चुनावमा होमिएका छन् । 

त्यसोत, ‘जित्नकै लागि सूर्य चिन्ह रोजेको हुँ’ भन्ने थापालाई एमाले मतदाताको कृपा रहे जितको संघारमा पुग्न सहज हुने वातावरण सृजना होला । तर कमल थापा भनेको गाईको झण्डा बोक्ने र हलो चिन्हमा मत माग्ने पार्टीका व्यक्ति हुन् भनेर मात्रै चिन्ने बुढापाका मतदातालाई सूर्य चिन्हको कथा पढाउन थापालाई सकस पूर्ण नै छ । यद्यपि, उनको आगामी राजनीतिक भविष्यको लेखा जोखा गर्ने जिम्मा मकवानपुरका जनताको हातमा सुम्पिएको छ । राप्रपा नेपालको केन्द्रीय अध्यक्ष भए पनि आसन्न निर्वाचनमा जित हासिल गर्न थापा एमाले मतदाताकै भरमा छन् ।
 

  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १५:५४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया