विश्वकप क्रिकेटमा आयरल्याण्डका लिटिलले लिए ह्याट्रिक

अस्ट्रेलियामा भइरहेको आइसिसी टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत जारी खेलमा न्यूजिल्याण्डले आयरल्याण्ड समक्ष १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह ‘एक’ अन्तर्गत एडिलेड ओभलमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनायो ।

उसका लागि कप्तान केन विलियमसनले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेल्दा डारिल मिचेल ३२ रनमा अविजित रहे । फिन एलनले ३२, डेभन कन्वेले २८ र ग्लेन फिलिप्सले १७ रन जोडे । आयरल्याण्डका लागि जोश लिटिलले ह्याट्रिक लिए । उनले १९ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा ह्याट्रिक लिएका हुन् ।

लिटिलले केन विलियम्सन, जिमी नीशम र मिचेल सान्टनरलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । जारी विश्वकपमा उनी ह्याट्रिक लिने दोस्रो बलर हुन् । यही विश्वकपमा श्रीलंकाविरुद्ध यूएईका स्पिनर कार्तिक मयप्पनले ह्याट्रिक लिएका थिए । ग्यारेथ डेलानीले दुई तथा मार्क आदिरले एक विकेट हात पारे ।

न्यूजिल्याण्ड आजको खेल जितेर सेमिफाइनलको यात्रा सुरक्षित गर्न चाहन्छ । उसले चारमध्ये दुईमा जित, एकमा हार र एक खेलमा अंक बाँडेको छ । न्यूजिल्याण्ड ५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

आयरल्याण्डले चारमध्ये दुईमा हार, एकमा जित र एक खेलमा अंक बाँडेको छ । सेमिफाइनल दौडबाट लगभग बाहिरिसकेको आयरल्याण्ड तालिकाको पाँचौं स्थानमा छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १२:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया