कोमल वली भन्छिन्– मैले विद्यार्थीसँग भोट मागेको होइन, गलत प्रचार भयो

नेकपा एमालेकी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार कोमल वली आजभोलि घरदैलोमा व्यस्त छिन् । दाङको समृद्धि र समुन्नत विकासको नारा लिएर चुनावी अभियानमा होमिएकी कोमल वलीले मतदातासँग घरदैलो अभियान सुरु गरेकी छिन् ।

यहीबीच उनी एक स्कुलमा गएको र विद्यार्थीसँग मत मागेको समाचार सन्चारमाध्यममा आएको थियो । उनले आफूले विद्यार्थीसँग मत नमागेको भए पनि तथ्यलाई बंग्याएर प्रचारप्रसार गरिएको भन्दै यसमा आपत्ति जनाएकी छिन् ।

दाङको बबई गाउँपालिका १ गँगटेको सरस्वती जनता माविका विद्यार्थीहरुसँग कोमल वली सँगै भएको तस्वीर सार्वजनिक गर्दै उनले विद्यार्थीसँग मत मागेका समाचार प्रकाशन भएपछि उनले यसलाई गलत प्रचारप्रसार भएको बताएकी हुन् ।

के तपाईंले विद्यार्थीसँग स्कुलमा गएर मत माग्नु भएको हो ? फरकधारले कोमल वलीलाई सोधेको छ ।

‘होइन, विद्यार्थी भाइबहिनीसँग चुनावी प्रचारका कार्यक्रम गर्नुहुँदैन भन्नेमा म सचेत छु,’ वली भन्छिन्, ‘त्यो क्षेत्रमा घरदैलोमा जाँदा स्कुल बाहिर जम्मा भएका विद्यार्थीहरुलाई मैले एउटा गीत सुनाएकी चाहिँ हुँ । तर, यो उनीहरुकै अनुरोधमा थियो ।’

लामो समय रेडियो नेपालमा समाचारवाचिकाकी रुपमा काम गरेकी वली चर्चित गायिका हुन् । ‘दाङमा कोमल वली भनेपछि बालबालिका तथा सम्पूर्ण बाआमाहरुमा गीत प्रतिको एउटा छुट्टै लगाव हुन्छ,’ वलीले भनिन्, ‘त्यो क्षेत्रमा जाँदा बाहिर खेलिरहेका केही विद्यार्थी मलाई हेर्न आए, गीत गाउन अनुरोध गरे, एकैछिनमा अलिक बढी विद्यार्थी जम्मा भए । मैले एउटा गीत गाएँ ।’ त्यसपछि विद्यार्थीले नै अनुरोध गरेकाले आफूले उनीहरुसँग तस्वीर खिचेको कोमल वलीले बताइन् ।



आफ्नो प्रतिबद्धतामा समेत दाङका विद्यालयको स्तरोन्नती गर्ने तथा स्कुले बालबालिकाका समस्या समाधानमा पहल गर्ने उल्लेख गरेको बताउँदै वलीले त्यो स्कुलको अवस्था बुझ्न चाहेको पनि बताएकी छिन् । ‘स्कुलको अवस्था बुझ्न मन थियो, तर चुनावी अभियानमा त्यसरी स्कुलभित्र जाँदा ठिक नहोला भनेर मैले बाहिर जम्मा भएका विद्यार्थीहरुको जिज्ञासा चाहिँ समाधान गरेकी हुँ,’ वलीले भनिन्, ‘त्यो कुनै राजनीतिक अभिप्रायको कार्यक्रम थिएन, कोमल वलीसँग भाइबहिनीहरुले गायिका भनेर एकछिन भलाकुसारी गरेका हुन् ।’

वलीले आफूलाई निर्वाचन आचारसंहिताको राम्रो ज्ञान भएको, बालबालिका तथा विद्यालय क्षेत्रमा राजनीतिक गतिविधि पनि गर्न नहुनेबारे थाहा भएको भन्दै आफू त्यसमा सचेत भएको पनि बताइन् ।



  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १२:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया