ब्याजदर तत्काल घटाउन माग गर्दै व्यवसायीहरू आन्दोलित

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरूले सडक आन्दोलन सुरु गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीहरूले शुक्रबार काठमाडौंको  माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन । 

उनीहरूले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । विगत ६ महिना यता मात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरू मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य हुनु परेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । 

उनले स्वदेशी उद्योगी, व्यवसायीहरूलाई मारमा पार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले गरेकाले मुलुकको अनधिकृत व्यापार फष्टयाएको भन्दै आक्रोश समेत व्यक्त गरे । व्यवसायीहरूले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन गठित उच्च स्तरीय समन्वय समितिले कामै नगरेकामा पनि आक्रोश पोखेका छन् । 

‘एक अंकले बढी नहुने गरी ब्याजदर कायम गर्न सरकारसँग माग गर्दछौँ । त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरूले लिलामी गर्न नीतिगत व्यवस्था पनि तत्कालका लागि खारेज गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ उपाध्यक्ष श्रेष्ठ भने, ‘६ महिना नपुग्दै बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर ब्याजदर वृद्धि गरी आफूहरुलाई आतंकित बनाएकोमा हामी आजित छौँ ।’

विरोध प्रदर्शनमा महासंघ अन्तरगतका सबै उद्योगी, व्यवसायीहरू सहभागी भएका थिए । उनीहरूले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंक भन्दा बढी ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरू पनि प्रदर्शन गरेका थिए । महासंघले ब्याजदर घटाउनेलगायतमा माग राखी अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १४:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया