ओलीलाई भीम रावलका चार प्रश्नः मलाई बुढो भन्ने ओलीजी कसरी तन्नेरी हुनु भयो ?

आज दिउँसो कन्चनपुरको एक चुनावी सभामा भाषण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलबारे दिएको अभिव्यक्तिपछि रावलले ओलीलाई चार प्रश्न गरेका छन् ।

दिउँसो भाषण गर्ने क्रममा एक सहभागीले भीम रावलबारे प्रश्न उठाएपछि ओलीले के भीम रावल, को भीम रावल, ४८ सालदेखि एक छिन मुख खाली छैन, बुढो भइसक्नु भयो भन्ने अभिव्यक्ति दिएका थिए ।

हेर्नुहोस्, भिडियोः

यसको जवाफमा भीम रावलले आफूबारे ओलीले बोलेको कुराले आलीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाङ्ग पारेको बताएका छन् । 

अनि उनले ओलीलाई चार प्रश्न पनि सोधेका छन् ।



भीम रावलको पहिलो प्रश्न छ– मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै मुख खाली छैन र फेरि पनि खानको लागि मुख किन वाउनु भएको त ?

रावलले आफ्नो दोस्रो प्रश्नमा आफ्नो उमेरबारे ओलीले गरेको टिप्पणीलाई लिएर प्रश्न गरेका छन् ।



‘म ६७ वर्ष लागेकालाई बुढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनु भयो ?’ रावलको दोस्रो प्रश्न छ ।

त्यस्तै, रावलले पार्टीको मापदण्ड नमानेको भन्दै ओलीमाथि प्रश्न गरेका छन्, ‘हो, अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ । तर, अरुलाई पालो दिनु पर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौँ पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनु पर्ने भन्ने किन लागू नहुने त ?’

रावलले ओलीले सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रुपमा अपमान हुने गरि बोलेको भन्दै चौथो प्रश्न राखेका छन् । उनले लेखेका छन्, ‘स्मरण रहोस्, अछाम जिल्लालगायत देशका विभिन्न भागमा ब्राम्हण, क्षेत्री गरी थुप्रै ओलीहरु पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने त ?’

भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भइसकेको व्यक्तिबाट मन्चमा भाषण गर्दागर्दै प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको पनि बताएका छन् ।

रावललाई अछामको एमालेले प्रतिनिधि सभा सदस्यका लागि एकल सिफारिस गर्दा पनि ओलीले टिकट दिएका थिएनन् ।

नेकपा एमालेले टिकट नदिएपछि एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् भने रावलले केही अघि पत्रकार सम्मेलन गर्दै आफू पार्टीमा नै रहने बताएका थिए ।


  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार २२:५०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया