चुनावमा उम्मेदवार भन्छन् लालपूर्जा दिन्छौँ, जितेपछि फर्किँदैनन् चेपाङ बस्तीमा
पाँच वर्ष पहिले जिताएका नेताको त्यसपछि मुखसम्म देख्न नपाएको स्थानीयको गुनासो

मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मकवानपुरका उम्मेदवारहरू मत माग्न जनताको घरदैलो धाइरहेका छन् । कसरी आफ्नो  पक्षमा मत पाउँला भन्दै जनतालाई अघिल्ला निर्वाचनमा जस्तै गरी झुटा आश्वासन बाँड्न सुरु भइसकेको छ । जहाँ जुन ठाउँमा पुग्यो, त्यहाँको समस्या जे छ त्यो निर्वाचनको भोलिपल्टै पूरा गरिदिन्छु भन्दै मत फकाउन उम्मेदवारहरू घर घरमा आउन थालिसकेको मतदाताहरूले गुनासो गर्न थालेका छन् । 

मकवानपुरको मनहरी गाउँपालिका ४ नयाँ बस्तीमा सीमान्तकृत चेपाङ जाती, लोपोन्मुख बनकरिया जाती र तामाङ समुदायका गरी ३ सय ७६ घरधुरी छ । २०७४ सालको बाढ पहिरोका कारण मनहरी ४ कै चिसापानी गाउँबाट विस्थापित भएका उनीहरू पर्सा राष्ट्रिय निकुञ्जको जमिनमा बास बस्न थालेको ५ वर्ष पूरा भइसकेको छ । जंगली भू–भाग तथा लोपोन्मुख जातिको बसोबास रहेको यहाँ नेताहरू प्रत्येक पाँच पाँच वर्षमा मात्रै पुग्ने गरेको नमिठो अनुभव छ यस बस्तीका मानिसहरूको । 

जीवन धान्न र बालबच्चाको टाउको लुकाउनको लागि बनाइएका साना छाप्राहरू पनि कुन बेला निकुञ्जका कर्मचारीले भत्काइदिने हुन् कि भन्ने त्रासमा बाँचिरहेका उनीहरूलाई ०७४ सालको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन, गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत लालपुर्जा दिन्छौँ मत हामीलाई दिनुस् भन्दै उम्मेदवारहरू उनीहरूलाई हात जोड्न त पुगे । तर पाँच वर्ष पहिले जिताएका उम्मेदवारको मुख आजसम्म पनि देख्न नपाएको स्थानीय प्रेमबहादुर प्रजा गुनासो गर्छन् । 

 “चुनाव आयो कि यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्दै हामीलाई हात जोड्दै घर घरमा आइ पुग्छन् । ल होला नि त भन्दै अगाडिका चुनावहरुमा पनि मत दिएर जिताएर पठायौँ । पाँच वर्ष अघि जितेका नेताहरूले बाटोमा भेटेर म फलानो ठाउँको प्रजा भन्दा ए ठिक छ, भनेर मात्रै टारिदिए,” उनले भने, “अहिले फेरी चुनाव आयो ओहो, बाजे मलाई भोट दिनुस् है तपाईँहरूलाई जसरी पनि लालपूर्जा दिएर स्थायी बसोवास गर्ने व्यवस्था गरिदिन्छौँ भन्दै ढोग्न आउन सुरु भइसकेको छ ।”

राजनीतिक दलहरूको झुटा आश्वासनले वाक्क भएका नयाँ बस्तीका नागरिकहरूको एउटै माग आफ्नो बास स्थानको ग्यारेन्टी कसले गरिदेला भन्ने छ । हरेक निर्वाचनमा अहिले मत दिएर जिताउनुस् हामी लालपूर्जा दिन्छौँ भन्नेहरू आए पनि निर्वाचन पछि आफ्ना समस्या सुनिदिने कोही नभेटिएको स्थानीय सुस्मिता प्रजा बताउँछिन् । 



आफ्ना ७ जनाको परिवारको टाउको लुकाउँदै आएको सानो खरले छाएको घर पनि आफ्ना नाममा नभएपछि त्यहाँबाट हट्नुपरे कहाँ गएर बसौँला भन्ने चिन्ताले सताइरहने गरेको उनी बताउँछिन् । अघिल्ला निर्वाचनमा लालपूर्जा पाइन्छ भन्ने आशामै भोट दिएकी उनलाई आगामी मंसिरको निर्वाचनमा भने मतदान गर्ने जाँगर छैन ।

कारण उनीहरूलाई देखाइएको झुटा आश्वासनले नेताप्रति सुस्मिताको विश्वास हराउँदै गएको छ । “छ नत मेरो परिवारमा मात्रै ४ भोट छ । तर हाम्रा दुःख नदेख्ने नेताहरूलाई भोट दिएर जिताए पनि नदिए पनि हामीलाई केही गर्ने होइनन् जस्तो लागिरहेको छ,” उनले भनिन् ।



आम्दानीको स्रोतको रूपमा ज्यालादारी र खेत किसानीबाट आफ्ना गुजारा गरिरहेका यो समुदायले लालपूर्जाका लागि पाँच वर्षको अवधिमा सरकारी निकायहरूको ढोका ढक ढकाउन बाँकी भने राखेनन् ।

तर आफूले माग्दा पनि नदिएको लालपुर्जाको झुटो भ्रम फैलाउँदै आफूहरूको मत फकाउने मात्रै काम सुरु भएको भन्दै यहाँका नागरिकहरू आक्रोशित देखिएका छन् । यहाँ झन्डै ३ सय भन्दा धेरै घरधुरी सङ्ख्या रहेको छ ।  

  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १३:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया