Wed, 26 Jun, 2019


कफी विथ यार्चा : कफीको घरेलु ब्रान्ड
फरकधार / माघ २३, २०७५

इन्डोनेसियाको एउटा टापुको नाम हो, जाभा । सत्रौँ शताब्दीमा डचहरुले जाभा कब्जा गरे र त्यहाँ कफीको व्यावसायिक खेती सुरु गरे । त्यसैवेलादेखि ‘कफी मिन्स जाभा र जाभा मिन्स कफी’ भयो । तर, ‘यार्चा जाभा’ खोज्न भने इन्डोनेसिया पुग्नुपर्दैन, काठमाडौंमै भेटिन्छ । 



कफी पारखीका लागि कफीसँगै सञ्जिवनी पिउने अवसर जुराइदिन्छ, काठमाडौं मलस्थित ‘यार्चा जाभा’ कफी सपले । कफी, यार्चा र दूध मिलाएर बनाइने ‘कफी विथ यार्चा’ नेपालमै रचिएको नौलो कफी ब्रान्ड हो ।

‘कफी विथ यार्चा’ बिल्कुलै नयाँ कन्सेप्ट भएको दाबी गर्छन्, क्याफे सञ्चालक विशाल चौलागाईं । ‘नेपालमा मात्र होइन, कफी विथ यार्चा विश्वमै नौलो प्रयोग हो,’ उनी भन्छन् । यो प्रयोगलाई सिद्ध गर्न पेप्सीकोलाका विशाल चौलागाईं र बझाङका सत्य थापा कम्मर कसेर लागेका छन् । र, उनीहरुलाई पिलर बनेर आडभरोसा दिइरहेकी छिन्, सारिका तामाङले । 

उनीहरु यसै यो क्षेत्रमा हामफालेका होइनन्, झन्डै दुई वर्षको मिहिन अध्ययन, अनुसन्धानपछि मात्र होमिएका हुन् । 

पहिलो चरणमा मिश्रण बनाएर प्रयोग गर्न मिल्ने–नमिल्नेदेखि के–के कम्पोनेन्ट कसरी प्रयोग गर्दा उपयुक्त हुन्छसम्मको रिपोर्ट बन्यो । अनि क्यानडा बस्ने फुड साइन्टिस्ट नारायण घिमिरेलाई योजना सुनाए । 

‘हामीले गर्न नसकेको काम तिमीहरुले गर्ने भएछौ, राम्ररी अघि बढ्नू,’ घिमिरेको भनाइ उद्धृत गर्दै विशाल सुनाउँछन्, ‘त्यसपछि त हो, हाम्रो हौसला चुलिएको ।’ 

त्यसपछि उनीहरुले अमेरिकास्थित फुड एन्ड सेफ्टी डिपार्टबाट आधिकारिकता लिए । लगत्तै, औपचारिक रुपमा क्याफे सञ्चालनमा आयो ।

कफी विथ यार्चा कन्सेप्ट 

दैनिक पाँच–सात सय कफीमा खर्च गर्ने ‘कफी लभर’ विशालले एकदिन साथीभाइमाझ ठट्टा गरे, ‘अब आफैँ क्याफे खोल्न पर्लाजस्तो छ, आफूलाई पनि सजिलो, कमाइ पनि हुने !’ 

नभन्दै एकछिनको ठट्टाले नयाँ सोच जन्मायो, कफीको छुट्टै ब्रान्ड बनाउने । कफी पसल त सबैले चलाएकै छन्, त्यो नौलो कुरा भएन । ‘यसलाई कसरी ब्रान्डिङ गरेर उद्यमी बन्न सकिएला ?’ सोच्न थाले विशाल । सँगैका साथी थिए, सत्य थापा । हिमाली जिल्ला बझाङ घर भएकाले उनी यार्चासँग नजिक थिए । 

गाउँ छँदा आफैँ यार्चा संगाल्न लेक उक्लिएको सत्यको स्मृतिमा ताजै छ । यार्चा टिप्न जाँदाजाँदै यसको महत्व पनि बुझेको बताउँछन् उनी । ‘जनमानसमा हाउगुजी बनेको यार्चाबारे हामी सबैलाई चिनाउँन चाहन्छौँ,’ सत्य भन्छन्, ‘मुस्किलले २० रुपैयाँको चिया पिउनेले ३ सयको कफी पिउन एकफेर सोच्नुपर्छ, यो हाम्रो लागि चुनौती हो ।’ 

उनी थप्छन्, ‘त्यसमाथि पनि हामीकहाँ कफी भन्दा तीतो मात्र बुझ्ने चलन छ । त्यसमा यार्चा पनि छ भनेर वास्तविक स्वाद चिनाउनु अर्को चुनौती हो ।’

कफीसँग यार्चा पनि छ भनेर विश्वास दिलाउन आइपरेको चुनौतीबारे उदाहरण दिँदै विशाल भन्छन्, ‘कोकाकोला कम्पनीले आफ्नो उत्पादन बेच्न सक्छ तर त्यसमा प्रयोग भएको सामग्री बताउन त सक्दैन । हामीलाई पनि ग्राहकको विश्वास जित्न समस्या छ ।’

जब हौसला बुलंद भयो

केही महिनाअघि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो चलेको थियो । पैसा हुनेले सम्पूर्ण लागत भुक्तान गरेर गाडीको रहर पूरा गर्थे । कम पैसा हुनेका सारथी थिए, बैंक तथा वित्तीय संस्था ।

त्यतिवेला पेप्सीकोलाका विशाल चौलागाईं दिमागमा उद्यमको नवीन सोच र झोलामा फर्मका कागजात बोकेर हिँडेका थिए । त्यहाँ उनले केही वाणिज्य बैंकका प्रतिनिधि भेटे र व्यावसायिक परियोजना सुनाए । ती बैंकले उनको व्यवसाय पत्याएनन् । बरु गाडीकै अफर तेर्स्याए, ‘तपार्ईं व्यवसायमा हात हाल्दै हुनुहुँदोरहेछ, मौकामा गाडी किन्नुस्, लोन मिलाइदिन्छौँ ।’ 

व्यवसाय गर्न एक रुपैयाँ नपत्याउने तर गाडी किन्न लाखौँ पत्याउने बैंकको मनोदशा देख्दा उनलाई उदेक लाग्यो । ‘मलाई मेलामा कम्तीमा दशवटा बैंकले ६० प्रतिशतसम्म सवारी कर्जा दिन्छु भन्दै पाखुरा समाते,’ विशाल व्यवसाय सुरु गर्दाको दुःख सुनाउँछन्, ‘तर, कुनै नयाँ काम गर्न खोज्दा विनाधितो ५० हजार पनि बैंकले पत्याएन ।’

उनलाई रातभर निन्द्रा परेन । मासिक आधा लाख कमाइ हुने दुबईको जागिर छाडेर नेपाल आएका विशाललाई यहाँको अवस्थाले आजित बनायो । दुबई जानुअघि साहुले घरमै ऋण पुर्याउन आएको बिर्सिएका थिएनन् उनले । तर, अहिले परिस्थिति फेरियो । साहु त परको कुरा, उद्यम गर्छु के भनेका थिए, परिवारले पनि शंकालु नजरले हेर्न थाले । ‘यस्तो वेलामा केही गर्छु भन्ने जोस नै सेलाएर जाने रहेछ,’ निराश सुनिन्छन् उनी ।

ती दिन उनलाई एउटै प्रश्नले बारम्बार घोचिरह्यो, ‘अब कसरी अघि बढ्ने ?’ देशमै केही गर्छु भनेर आए पनि फेरि दुबई फर्कन सक्थे, तर विशालको मनले मनेन । बरु केही गरेरै देखाउन अड्डी कस्यो । त्यही जिद्दी मनले उनलाई उद्यमी मात्र नभई नयाँ ब्रान्डको सूत्रधार बनायो ।

कफी विथ बुक 

सहरमा पठन–संस्कृति बढ्दो छ । तर, उपयुक्त स्थानको अभावमा फैलन सकेको छैन । सत्य र विशालले यो महसुस गरे, र क्याफेमा केही पुस्तकले स्थान पाए । विशाल भन्छन्, ‘क्याफेमा बसेर कसैलाई आधा घण्टा कुर्नुपर्यो भने के गर्ने त ? यसैको जवाफमा हामीले ‘कफी विथ बुक’ कन्सेप्ट अघि सार्यौँ ।’

त्यसमाथि, जब सत्यलाई घरगाउँका मानिसले ‘तैँले त होटल खोलेको छस रे, हो ?’ भनेर प्रश्न गर्न थाले, प्रतिउत्तरमा ‘कफी विथ बुक’ कन्सेप्ट जन्मियो । सत्य भन्छन्, ‘यो खाने ठाउँ मात्र होइन, काम गर्ने वा पढ्ने ठाउँ पनि हो ।’ 

‘स्थानीय उत्पादनलाई बढावा दिनुपर्छ, यार्चा र कफी होस्, या पुस्तक,’ उनी थप्छन्, ‘अनि पो सफलता हात पार्न सकिन्छ ।’ 

त्रिचन्द्रका तीन प्राध्यापक नियमित ग्राहक छन् । उनीहरु क्याफेमा आएर घन्टौँ घोत्लिन्छन् । क्याफेमा केवल अध्ययन–अनुसन्धान, नेपाल र विश्वका इतिहास तथा सफल व्यक्तिका प्रेरणासँग सम्बन्धित पुस्तक छन् । ‘पढ्ने भनेपछि टाइम पास मात्र नहोस्, ज्ञान आर्जनको साधन पनि बनोस्,’ विशेष किताब मात्र राख्नुका कारण प्रस्ट्याउँछन् विशाल ।

कफीको नेपाली ब्रान्ड 

पाँच महिना मात्र भयो, क्याफे सञ्चालनमा आएको । यद्यपि, भक्तपुर र काठमाडौंमा क्याफे खोलेका सञ्चालकद्वय सन्तुष्ट छन् । अन्त पनि शाखा विस्तार गर्ने योजना छ उनीहरुको । गर्वका साथ सुनाउँछन्, ‘आफ्नै उत्पादन प्रयोग गरेर केही त नयाँ गरेका छौँ ।’ 

यार्चा जाभाले गरेको अर्को ‘आविष्कार’ हो, कफीमा फेस आर्ट । यो नेपालमै पहिलो कन्सेप्ट हो, जहाँ कफीको कपमा आफ्नै अनुहार प्रिन्ट गर्न सकिन्छ । कफी कल्चर डेभलप गर्ने भइसकेपछि कफी पारखीले पनि नयाँ अनुभव गर्न पाउनुपर्ने विशालको मत छ ।

‘नेपालको कफी संसारभर गुणस्तरीय मानिन्छ । यसलाई अर्थसँग जोड्दा हाम्रो अवस्था सबल बन्छ भने त्यो किन नगर्ने ?’ विशाल प्रश्न गर्छन् । कुन काम कसरी गर्दा ज्यादा नाफा हुन्छ, सोच्न जरुरी ठान्छन् उनी । 

‘व्यापार गरेर घर, गाडी किन्न यो क्षेत्रमा छिरेको होइन,’ योजना सुनाउँदै विशाल भन्छन्, ‘नेपालमा कफी संस्कृति विकास गर्ने एउटै लक्ष्य छ हाम्रो । एक–दुई नयाँ फन्टासी त गर्नैपर्यो ।’ 

पाँचमहिने अवधिमा यार्चा जाभाले धेरै रोजगारी सिर्जना गर्यो । अहिले पनि १४ जनाले यहाँ रोजगारी पाएका छन् । तर, विशालले भनेजस्तो स्टाफचाहिँ अझै पाउन सकेका छैनन् । नाम चलेका कफी ब्रान्डले चर्को शुल्क तिराएर उत्पादन गरेका युवा उनका लागि काम लागेनन् । बच्चा जन्मिए पनि शारीरिक रुपमा अशक्त भएजस्तै तालिम प्रमाणपत्र लिए पनि उनीहरुमा ‘सीप’ भने छुटेको उनको ठहर छ । 

‘कफी बुझेका छैनन्, मेसिनअगाडि बस्न डराउँछन्, शुल्कअनुसारको सीप खै त ?’ प्रश्न तेर्साउँदै उनी भन्छन्, ‘हामी त्यो ग्याप पूरा गर्न चाहन्छौँ ।’ 
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्