बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा जित हात पारेको छ । उसले अल्मेरियाविरुद्ध २–० को जित हात पारेको हो ।
घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई ओसमाने डेम्वेले र फ्रान्की डि जोङले एक/एक गोल गरे । खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न सक्दा बार्सिलोना अग्रता लिनबाट चुक्यो ।
फेरान टोरेसको हेडर काइकीले हातले छोएको भन्दै रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टी प्रदान गर्दा गरेका थिए । तर, लेवान्डोस्कीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
४८ औं मिनेटमा डेम्वेलेको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । ६२ औं मिनेटमा डि जोङले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।
यही खेलबाट डिफेन्डर पिकेले व्यावसायिक करिअरबाट सन्न्यास लिएका छन् । अल्मेरियाविरुद्ध उनैलाई कप्तानी जिम्मेवारी प्रदान गरिएको थियो ।
करिअरको अन्तिम खेलमा पिकेले पूरै ९० मिनेट भने मैदानमा बिताउन पाएनन् । ८५औं मिनेटमा आन्द्रेस क्रिस्टेनसनले प्रतिस्थापन गरेका थिए । उनलाई नोउ क्याम्पमा हजारौं समर्थकमाझ क्लबले सुखद बिदाइ गरेको छ ।
२००८ देखि बार्सिलोनाको सिनियर टोलमा खेल्न लागेका पिकेले क्लबका लागि उनले बार्सिलोनामा आठ ला लिगा, सात कोपा डेल रे, ६ सुपर कोपा, समान तीन च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जिते ।
उनले बार्सिलोनाका लागि ३९७ ला लिगा खेलमा २९ गोल गरेका छन् । यो जितसँगै १३ खेलमा ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिँदा पराजित अल्मेरिया समान खेलबाट १३ अंकका साथ १५औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा जिरोना, रियल भालाडोलिड र ओसासुनाले पनि जित हात पार्दा गेटाफे बराबरीमा रोकियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।