कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
फरकधार / २० कात्तिक, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा वलीसँग  आयोगले स्पष्टीकरण सोधेको हो ।



निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

‘तपाईँले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईँले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो?,’ आयोगको स्पष्टीकरणमा भनिएको छ ।



आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई निर्देशन दिएको छ ।



  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १०:२६:३,   अन्तिम अपडेट : कात्तिक २०, २०७९ आइतबार १०:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया