पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएको उनका सहयोगीले बताएका छन् ।
गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए ।
गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएका छन् ।
पूर्वसूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे । एक स्थानीय टिभी च्यानलले उनलाई निलो रंङको अस्पतालको गाउन लगाएर लाहोरस्थित एक क्लिनिकबाट ह्विलचेयरमा निस्कँदै गरेको देखाएको थियो ।
पूर्वीसहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि उहाँ चढेको ‘कन्टेनर ट्रक’लाई लक्षित गरी गोली चलाउँदा घाइते भएका थिए ।
आक्रमणमा संलग्न भएको आरोपमा एक व्यक्ति हिरासतमा लिइएको छ । सरकारी अधिकारीहरूले आक्रमणलाई ‘एक्लो बन्दुकधारीको काम र धार्मिक अतिवादको एकदम स्पष्ट मामला’ भनेका छन् ।
प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक गरेको भिडियोमा एक मात्र संदिग्धले खानको प्रदर्शनले प्रार्थनाको आह्वानमा बाधा पुर्याएको कारण खानलाई मार्ने प्रयास गरेको बताएका छन् ।
खानले भने घटनामा दुईजना बन्दुकधारी संलग्न रहेको दाबी गरेका छन् । शुक्रबार अस्पतालबाट पत्रकारसँग कुरा गर्दै उनले घटनाको पछाडि सरिफ, गृहमन्त्री राना सनौल्ला र एक वरिष्ठ गुप्तचर अधिकारीको संलग्नता रहेको दाबी पनि गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।