धनगढीमा असन्तुष्ट नेता कार्यकर्तालाई फकाउँदै प्रधानमन्त्री देउवा
फाइल तस्बिर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई दिन सम्म धनगढीमा रहने भएका छन् । प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा आयोजना भएका आमसभालाई सम्बोधन गरी आइतबार बेलुकी सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको धनगढी पुगेका हुन् । 

गृह जिल्लामा आफूलाई मत माग्दै चुनावी सभाहरूलाई सम्बोधन गरेर धनगढी झरेका देउवा आज कार्यकर्ता भेटघाटमा व्यस्त रहेको छन् । धनगढीस्थित आफ्नै निजी निवासमा धनगढीसहित कैलालीका नेता तथा कार्यकर्तालाई बोलाएर चुनाव केन्द्रित भेटघाट तथा छलफल गरिरहेको कांग्रेस कैलालीले जनाएको छ ।

देउवाले उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई पनि बोलाएर छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । कैलालीका नेता, कार्यकर्तासँग देउवाले यहाँको चुनावी अवस्था र सम्भावित परिणामबारे जानकारी लिइरहेको उनले बताए ।

देउवाले नेता तथा कार्यकर्तालाई चुनावमा जित हासिल गर्न सशक्त रूपमा खट्न निर्देशन दिइरहेका जनाएको छ । धनगढी उपमहानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा (२) बाट प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन् । 

क्षेत्र नम्बर ५ मा कांग्रेसका पुराना नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०७० सालमा भएको उपनिर्वाचनमा यहाँ कांग्रेसबाट ओझा विजयी भएका थिए । ०७४ को चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई असहयोग गरेको अभियोगमा उनलाई कांग्रेसले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो । 

कांग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आकलन गर्न थालिएपछि प्रधानमन्त्री देउवाले असन्तुष्टहरूलाई मनाउने कोसिस गरिरहेका छन् ।



नेकपा एमालेबाट यहाँ प्रतिनिधिसभा सदस्यमा नारदमुनि राना उम्मेदवार छन् । २०७४ को निर्वाचनमा रानाले देउवा पत्नी आरजु राणा देउवालाई पराजित गरेका थिए । दुई दिन सम्म धनगढी रहे पनि प्रधानमन्त्री देउवाको यहाँ कार्यकर्तासँग छलफल बाहेक अरू औपचारिक कार्यक्रम भने तय नभएको बताइएको छ । 

बुधबार फेरि देउवा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न दार्चुला र बैतडी जाने छन् । दार्चुला र बैतडीमा देउवासहित गठबन्धनका नेता (माओवादी अध्यक्ष) प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने कार्यक्रम छ । 



  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १५:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया