पर्यटनमन्त्री श्रेष्ठ र अभिनेता राजेश हमालले सार्वजनिक गरे कृष्णको ‘रानी माया’ (भिडियाे)

‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् । श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् कृष्ण विकको रहेको छ । 

काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । 

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवापुस्ताले नेपाली कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । ‘गीतसंगीतको माध्यमले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ । यो गीतमा पनि प्रयोग भएका दृश्यले पक्कै लोभ्याउँछ । हामी पनि यस्ता गीतसंगीत प्रति सकारात्मक छौँ’, मन्त्री श्रेष्ठले भने, ‘चुनावी चटारोकै बीच म युवालाई हौसला मिलोस् भनेर नै यहाँ आएको हुँ । आउँदा दिनमा मन्त्रालयले समेत सहकार्य गर्नेछ ।’

कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले भिडियो आकर्षक बनेको प्रतिक्रिया दिँदै तारिफ गरे । ‘गीतको भिडियो निर्माणमा गरिएको मिहिनेत देखिन्छ । विनासम्झौता प्रोजेक्टलाई स्तरीय बनाउनु हामी कलाकारहरूको लागि झनै राम्रो हो । उहाँहरूसँग मैले काम गरिसकेको छु । यसले पनि दर्शकको माया पाउनेमा विश्वत छु’, अभिनेता हमालले भने ।

गायक कृष्णले गीतसंगीत स्तरीय बनाउने आफ्नो चाहना रहेको बताए । ‘यो मेरो दोस्रो प्रयास हो । अडियो र भिडियोलाई बलियो बनाउने कोसिस गरेको छु । गायनसँगै अभिनय गर्दा रमाइलो भयो’, गायक कृष्णले भने । 



गीतमा फिचर्ड मोडल अनु आचार्यले भिडियोमा गरिएको मिहिनेत पर्दामा देख्दा भुलेको बताइन् । गीतमा स्वयं गायक कृष्णले अनु आचार्यसँग अभिनय गरेका छन् । गीतमा सन्तु तामाङको मेकअप, सरस्वती श्रेष्ठको हेयर, बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रंग संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, सञ्जय लामाको छायांकन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ ।

निर्देशक जीबीले भिडियोलाई स्तरीय बनाउन निकै मेहनत गरेको बताए । ‘गीतलाई हेर्दा पनि उत्तिकै आनन्द आओस् भनेर सकेको मिहिनेत गरेका छौँ । गीतमा सामान्य युवा र राजकुमारीको प्रेमलाई देखाउन खोजिएको छ । गीतले दर्शक र श्रोताको मन जित्नेमा विश्वस्त छु’, निर्देशक जीबीले भने । 



सार्वजनिक भिडियो गीत नेपाल नामक युट्युब च्यानलमा उपलब्ध छ । कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्कालगायतको उपस्थिति रहेको थियो ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १८:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया