विश्व बैंकको अध्यक्षमा डेभिड माल्पास सिफारिस

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको अध्यक्षका लागि सिफारिस गरेका छन् । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन् । 

अमेरिकी अर्थ विभागका वरिष्ठ अधिकारी माल्पासको छनाेट विवादास्पद मानिएको छ, तर बैंकका बहुसंख्यक सेयरहोल्डर्स, खासगरी युरोपेली मुलुकको समर्थन प्राप्त गर्न राष्ट्रपति ट्रम्प सफल भए भने बैंकलाई नयाँ स्वरुपमा ढाल्न ट्रम्पलाई एउटा मौका हुनेछ । 

ट्रम्पले माल्पासको नाम सार्वजनिक गर्ने क्रममा ह्वाइट हाउसमा आयोजित समारोहमा भने, ‘माल्पास विलक्षण प्रतिभाका धनी हुनुहुन्छ र अति महत्वपूर्ण जिम्मेवारी लिनसक्ने उपयुक्त व्यक्ति पनि हुनुहुन्छ ।” 

‘विश्व बैंकमा सबैभन्दा ठूलो योगदानकर्ता मुलुक अमेरिका हो,’ उनले भने, ‘मेरो प्रशासनले अमेरिकी करदाताले तिरेको पैसा प्रभावकारी र बुद्धिमत्तापूर्वक तरिकाबाट खर्च भएको सुनिश्चित गर्न उच्च प्राथमिकता दिनेछ ।’

राष्ट्रपति ट्रम्प र उनको ह्वाइट हाउस प्रशासनले कार्यभार सम्हालेको दुई वर्षदेखि बहुराष्ट्रिय संस्थाहरुमाथि निरन्तर आलोचना गरिरहेका छन् । माल्पासले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमाथि आक्रमणको नेतृत्व नै गरिहेका छन् । 

माल्पासले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको ऋण प्रवाह अभ्यास ‘भ्रष्ट’ रहेको बताउँदै चीन र तुलनात्मक रुपमा सम्पन्न मुलुकमा समेत लगानी गरिरहेकामा आपत्ति जनाएका छन् । 

उक्त समारोहमा बोल्दै माल्पासले गत वर्ष स्वीकृत सुधारका योजना कार्यान्वयन गरिने स्पष्ट पारे । उनले बैंकको लगानी योग्य रकमलाई १३ अर्ब डलरले वृद्धि गरिने पनि बताए । माल्पासले उच्च आय भएका चीनजस्ता मुलुकलाई प्रदान गरिने ऋणमा कडाई गर्ने तथा त्यस्ता मुलुकमा ऋण प्रवाह गर्दा बढी व्याजदरमा मात्र दिइने बताए । 

‘म निकै आशावादी छु कि अति गरिबीसँग जुध्न तथा विकासाेन्मुख मुलुकमा आर्थिक अवसर सिर्जना गर्न हामी सक्षम हुनेछौं,’ माल्पासले भने । 

विश्व बैंकका अध्यक्ष जिम योङ किमले आश्चर्यजनक रुपमा पाँच वर्षे दोस्रो कार्यकालको बीचमै फेब्रुअरी १ बाट लागू हुनेगरी राजीनामा दिएका थिए । उनको राजीनामासँगै राष्ट्रपति ट्रम्पलाई नयाँ अध्यक्ष चयन गर्न बाटो खुलेको हो । 

बिहीबारदेखि बैंकको बोर्डले मनोनयनमा परेका व्यक्तिको आवेदन लिनेछ र यो मार्च १४ तारिखसम्म रहनेछ । आगामी अप्रिल १२–१४ सम्म वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको संयुक्त बैठक अघि बैंकको नयाँ अध्यक्ष चयन गरिनेछ । 

बैंकका १८९ सदस्यमध्ये जोकोहीले अध्यक्षका लागि उम्मेदवारी दिन सक्नेछन् । 

दोस्रो विश्वयुद्धको समाप्तिपछि स्थापना भएको विश्व बैंकका अध्यक्षहरु हालसम्म अमेरिकीहरु नै भइरहेका छन् । विश्वकै सबैभन्दा ठूलो वित्तीय संस्था विश्व बैंकको प्रधान कार्यालय अमेरिकाको वासिङ्टनमा रहेको छ । 

विश्व बैंकको भगिनी संस्था अन्तर्राष्ट्रिय मुद्रा कोषको नेतृत्व भने युरोपेली मुलुकहरुबाट हुने गरेको छ । 

पछिल्ला वर्षहरुमा उदीयमान अर्थतन्त्र रहेका मुलुकहरुले अलिखित यो व्यवस्थाका विरुद्धमा चुनौती दिन थालेका छन् । उनीहरुले बैंकको अध्यक्ष चयन गर्दा बढी खुला, योग्यता–आधारित छनौट प्रक्रिया अवलम्बन गर्न माग गरिरहेका छन् । 

अमेरिकी पूर्व अर्थ अधिकारीहरुले माल्पास र उनको योग्यतालाई लिएर कडा आलोचना गरिरहेका छन् । उनीहरुले विश्वको वित्तीय सङ्कटका बारेमा यथार्थ विश्लेषण गर्न माल्पास असक्षम रहेको आरोप लगाएका छन् । 

जर्ज डब्लु बुस प्रशासनका समयमा अर्थसहायक मन्त्री रहेका टोनी फ्राटोले भने, ‘विश्व बैंकको अध्यक्षमा डेभिड माल्पासको मनोनयन दुर्भाग्यपूर्ण र विषाक्त छनौट हो ।’

संयुक्तराज्य अमेरिका विश्व बैंकको सबैभन्दा ठूलो सेयरहोल्डर हो तर अमेरिकासँग कुनै विशेषाधिकार भने छैन । बोर्डमा बहुमत पुर्याउन अमेरिकालाई युरोपेली मुलुकहरुको समर्थन आवश्यक हुन्छ । 

अमेरिकी अधिकारीहरुले अर्थमन्त्री स्टिभन मन्चिनले राष्ट्रपति ट्रम्पको मनोनयनका पक्षमा समर्थन जुटाउन विश्व बैंकका अरु सेयरहोल्डरसँग छलफल थालेकाे बताएका छन् । 





  • प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार १३:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया