कतार विश्वकपका केही रोचक तथ्य

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप सुरु हुन अब १२ दिन मात्र बाँकी छ । पहिलोपटक जाडो मौसममा हुने विश्वकप प्रायः देशमा सञ्चालन भइरहेको क्लब लिग बीचमा स्थगित गरेर हुन लागेको हो । 

२० नोभेम्बरमा कतारमा विश्वकप सुरु हुँदैछ । मुख्यतः युरोपका क्लब लिग खेलहरू त्यसको एक साता अघि मात्र स्थगित हुनेछ । युरोपका शीर्ष लिगका खेलहरू नोभेम्बर १२ र १३ पछि ब्रेक गरिनेछ । विश्वकप १८ डिसेम्बरमा सकिनेछ । त्यसको एक सातापछि लिगका खेल पुनः सुरु हुनेछन् ।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको २२ औं संस्करण हो । ​उद्‍घाटन खेल समूह ‘ए’ का आयोजक कतार र इक्वेडरबीच अल खोरस्थित अल बायत स्टेडियममा २० नोभेम्बरमा हुनेछ ।

पहिलोपटक विश्वकप आयोजना गर्न लागेको कतारले प्रतियोगिताका लागि ८ स्टेडियम तयार पारेको छ । सन् २०१८ को विश्वकपमा स्थान बनाएका नाइजेरिया, पेरु, कोलम्बिया, पानामा, इजिप्ट, आइसल्याण्ड रसिया र स्वीडेन यसपटक देखिने छैनन् । चार वर्षअघिको विश्वकपमा नभएका कतार, वेल्स, क्यानडा, इक्वेडर, नेदरल्याण्ड्स, अमेरिका,घाना र क्यामरुन यसपटक देखिने छन् । 

कतार विश्वकपका केही रोचक तथ्य

पहिलोपटक जाडो मौसममा आयोजना : फिफा विश्वकपको ९२ बर्से इतिहासमा पहिलोपटक प्रतियोगिता जाडो मौसममा आयोजना हुन लागेको छ । यसअघिका २१ संस्करण प्रायः जुन जुलाईमा हुने गरेका थिए । यो समयमा कतारमा अत्यधिक गर्मी हुने भएकाले प्रतियोगिता नोभेम्बर डिसेम्बरमा हुन लागेको हो । 



पहिलोदेखि ६१ औं वरीयतासम्मका टोली : कतारमा विश्वकपका लागि विश्वका उत्कृष्ट ३२ राष्ट्र छनोट चरण पार गरेका छानिएका हुन् । जसमा कतार विश्वकप खेल्ने टोलीको वरियता शीर्ष ६१ भित्र छ । फिफा वरीयताको शीर्ष स्थानमा ब्राजिल तथा ६१ औँ स्थानमा घाना छ । 

एसियाबाट पहिलोपटक ६ देश : विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलोपटक ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । कतार आयोजकका नाताले सिधै छनोट हुँदा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् । 
त्यस्तै, अस्ट्रेलियाले अन्तर महादेशीय प्लेअफमा दक्षिण अमेरिकी टोली पेरुलाई हराउँदै विश्वकपमा स्थान बनाएको हो । अस्ट्रेलिया ओसियाना क्षेत्रमा रहे पनि पछिल्लो समय एएफसीको सदस्यता लिएर एसियाबाट खेल्ने गरेको छ । 



यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । कतार विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३, अफ्रिकाबाट पाँच, दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट चार/चार टोलीले कतार विश्वकप खेल्नेछन् ।

डेब्यु गर्दै कतार : विश्वकप फुटबलको इतिहास झन्डै एक शताब्दी पुग्न लाग्दा एसिया महादेशमा भर्खर दोस्रो पटक विश्वकप आयोजना हुन लागेको छ । यसअघि २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा यो प्रतियोगिताको आयोजना गरेका थिए । 

पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतार विश्वकपमा पनि डेब्यु गर्दैछ । सन् २०१० मा फिफाले कतारलाई विश्वकप आयोजनाको अधिकार दिएको घोषणा गरेको थियो । 

विभिन्न कारणले आलोचना हुँदै आए पनि यतिबेला कतार विश्वकपलाई जसरी भए पनि सफलतापूर्वक सम्पन्न गर्न लागिपरेको छ ।

सबै विश्वकप खेल्ने ब्राजिल एक्लो टोली : विश्वकपको सर्वाधिक सफल टोलीमध्ये एक हो दक्षिण अमेरिकी राष्ट्र ब्राजिल । ब्राजिलको नाममा अनौठो कीर्तिमान छ, त्यो हो सबै संस्करणमा सहभागिता ।

अहिलेसम्म विश्वकप २१ संस्करण समाप्त भइसकेका छन् र उसले ती सबैमा सहभागिता जनाएको छ । यस्तै, ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ । ब्राजिल २२ औँ पटक विश्वकप खेल्दैछ । ब्राजिलपछि जर्मनी (तल्कालिन पश्चिम जर्मनी) ले २०,अर्जेन्टिनाले १८ र मेक्सिकोले १७ औं पटक विश्वकप खेल्दैछन् ।

वेल्स र क्यानडाको लामो समयपछि पुनरागमन : युरोपियन राष्ट्र वेल्स र उत्तर अमेरिकाको क्यानडाले लामो समयपछि  विश्वकपमा पुनरागमन गरेका छन् । वेल्स ६४ वर्षपछि विश्वकपमा देखिँदै छ । उसले पछिल्लोपटक सन् १९५८ को विश्वकप खेलेको थियो । स्वीडेनमा भएको यो प्रतियोगितामा वेल्सले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । 

त्यस्तै, क्यानडाले ३७ वर्षपछि फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्दैछ । पछिल्लोपटक सन् १९८६ मा मेक्सिकोले आयोजना गरेको विश्वकप खेलेका उसले समूह चरण भने पार गर्न सकेको थिएन । 

इटाली विश्वकपमा छनोट नहुने शीर्ष १० वरीयताको एक्लो टोली : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको २११ सदस्य राष्ट्र छन् । त्यसमध्ये उत्कृष्ट ३२ राष्ट्र मात्र विश्वकपमा छनोट हुन्छन् । जसले गर्दा केही नाम चलेका ठूला राष्ट्रसमेत विश्वकपमा छनोट हुन सक्दैनन् । 

कतार विश्वकपमा नदेखिने सबभन्दा ‘ठूलो’ राष्ट्र हो इटाली । युरोपियन राष्ट्र इटालीले चारपटक विश्वकप उपाधि जितिसकेको छ । इटालीले पछिल्लोपटक सन् २००६ मा जर्मनीमा भएको विश्वकप जितेको थियो ।

गत वर्ष युरोकपको उपाधि जितेको इटाली कतार विश्वकपमा भने छनोट हुन सकेन । उसले विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफमा नर्थ म्यासेडोनियासँग अप्रत्याशित रूपमा हार ब्यहोरेको थियो ।

इटाली विश्वकपमा छनोट नहुने शीर्ष वरीयताको टोली हो । ऊ हाल फिफा वरीयताको छैटौँ स्थानमा छ । इटाली​बाहेक शीर्ष १० मा पर्ने सबै टोली यसपटकको विश्वकपमा देखिने छन् । 

कतार विश्वकपको समूह विभाजन

समूह ‘ए’ : कतार (आयोजक), इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स

समूह ‘बी’ : इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स

समूह ‘सी’ : अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

समूह ‘डी’ : फ्रान्स (साबिक विजेता), अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

समूह ‘इ’ : स्पेन, कोस्टारिका, जर्मनी, जापान

समूह ‘एफ’ : बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया

समूह ‘जी : ब्राजिल, सर्बिया, स्विट्जरल्याण्ड, क्यामरुन

समूह ‘एच’ : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १२:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया