भेनेजुयला प्रकरण
प्रचण्ड–ओली टकराव

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेनेजुयलाको विषयलाई लिएर मत बाझिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भेनेजुयलाको आन्तरिक मामिलामा नेकपाले विज्ञप्ति नै निकालेर चासो देखाउन नहुने बताएका छन् ।  

मंगलबार साँझ ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै ओलीले आफू नेपालमै भएको भए प्रचण्डले विज्ञप्ति जारी नगर्ने दाबी गरे । माघ ११ गते प्रचण्डले विज्ञप्ति जारी गर्दा ओली स्विटजरल्याण्डको डावोसमा भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा थिए ।   

प्रधानमन्त्री ओलीले प्रचण्डलाई कटाक्ष गर्दै भने, ‘म भोलिपल्ट आउँदै थिएँ । अघिल्लै दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन ।’  

यता प्रचण्डले भने भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताएका छन् । बिहिबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । उनले भने, ‘एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरिएको हो । परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।’

मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालय बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको केही अर्थ नलाग्ने प्रचण्डको भनाइ छ । 



प्रधानमन्त्री ओली र अमेरिकी राजदूत र्यान्डी बेरीको भेटमा भेनेजुयलाको प्रसंग आएको थियो । उक्त भेटमा राजदूत बेरीले कडा आपत्ति जनाउँदा प्रधानमन्त्री ओली नरम भए । ओलीले 'जनतासँग प्रधानमन्त्री' कार्यक्रम मार्फत् बेरीलाई जवाफ दिंदै भने,‘वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ । यो त्यस्तो जरूरी छैन । अलिकति स्लिप ‘चिप्लिएको’ मात्र हो ।’ 

प्रचण्डले ११ माघमा वक्तव्य जारी गर्दै भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको बताएका थिए । प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ।’ 



‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ विज्ञप्तिमा भनिएको छ, ‘यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो ।’      

प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्यमा प्रयोग गरिएको भाषा पनि उपयुक्त नभएको बताए । उनले भने, ‘एउटा जरूरी विषय थिएन । अर्को जुन भाषा प्रयोग भयो त्यो पनि उपयुक्त भएन त्यसैले एउटा तरंग ल्यायो ।’ अध्यक्षद्वय प्रचण्ड र ओलीबीचमा भएको टकरावलाई लिएर पूर्व राजदूत तथा राजनीतिशास्त्री विजयकान्त कर्णले ओली र प्रचण्डले मित्र शक्तिलाई चिडाउने काम गरेको बताए । उनले भने, ‘ओली र प्रचण्डले मित्र शक्तिलाई चिडाउने काम गरे । यसलाई व्यवस्थापन गर्न समय लाग्छ ।’ 

फरकधारसँग कुरा गर्दे कर्णले प्रचण्डको वक्तव्यको कुनै अर्थ नरहेको पनि बताए । उनले भने, ‘प्रचण्डको स्टेटमेन्टको कुनै अर्थ देखिँदैन् । यो सरासर गलत काम हो । पार्टीभित्रका केही सीमित व्यक्तिले उचाल्दैमा प्रचण्डले वक्तव्य निकाल्न हुँदैनथ्यो ।’

‘नेपालमा राजाले दमन गर्दा, अप्ठ्यारोमा पर्दा भेनेजुयला नेपालको पक्षमा उभिएन राजदूत कर्णले भने, ‘अहिले अमेरिकाले हस्तक्षेप गर्यो भन्दैमा नेपालले किन भेनेजुयलाको आन्तरिक मामिलामा चासो दिएको ? वक्तव्य नै निकालेर चासो व्यक्त गर्नु सरासर गलत हो ।’ 

राजदूत कर्णले नेपालको परराष्ट्र नीति सञ्चालनमा खेलाँची गरिएकाे बताउँछन् । उनले भने, ‘यो विदेश नीतिको खेलाँची हो । बच्चापनको खेल हो ।’ नेपालको परराष्ट्र नीति सरकारअनुसार फरक–फरक  भएको पूर्व राजदूत कर्णको भनाइ छ । परराष्ट्र नीतिमा नेपालका ठूला दल र सरकारले ‘मिस म्यानेज’ गरेको कर्णले बताए । 
 


  • प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार १५:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया