काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् ।
काठमाडौं उपत्यकाका विभिन्न नेवारी बस्तीमा पनि नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति मन्दिर परिसर र विभिन्न टोलमा हर्षोल्लासका साथ यो पर्व मनाएका छन् । नयाँ गेडागुडीबाट विभिन्न देवीदेवताको मन्दिर बनाइ मन्दिरअघि र आफ्नो घरअगाडि प्रदर्शन गर्ने प्रचलन रहेको स्थानीयहरू बताउँछन् ।
यस क्रममा मंगलबार साँझ गहुँ, कालो भटमास, मकै भुटेर बनाइने देवी देवताको मूर्तिको आकृति प्रदर्शन गरिएको थियो । गेडागुडीबाट देवीदेवताको आकृतिको कला दिइएको मूर्तिमा मास, पिँडालु, सखरखण्ड, कन्दमूल, फलफूल र विभिन्न प्रकारका रोटीले सजाइएको थियो ।
यस क्रममा मन्दिर अघि र टोल टोलमा भजन कीर्तन गाएर देवीदेवताप्रति भक्ति र श्रद्धाभाव दर्साउने चलन रहेको छ । नेवार समुदायले भजन कीर्तन सकिएपछि फलफूल र रोटीका परिकारहरू एकै ठाउँमा जम्मा पारी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रही आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।