अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ ।
यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरिमाना हुने कानुनी व्यवस्था रहेको छ । उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।
यसैबीच ब्यूरोले ग्रिन टीको नाममा नियन्त्रित लागुऔषध खात कारोबार गर्ने दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन् ।
उनीहरूको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।