मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन भएका छन् ।
निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ६ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।
निर्वाचनका बेला १ सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २० वटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकताअनुसार मात्रै परिचालन हुने जनाइएको छ । मतदानस्थलमा भने निर्वाचनको दुई/तीन दिनअगाडि मात्रै सुरक्षाकर्मी खट्ने छन् ।
रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित म्यादी प्रहरी फरक–फरक ठाउँमा तैनाथ हुनेछन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कैलालीमा २ हजार आठ सय १२, कञ्चनपुरमा एक हजार छ सय ३२, बाजुरामा सात सय ४९, डोटीमा ९ सय ५३, डडेल्धुरामा ९ सय ३७, अछाममा १ हजार २ सय ६८ म्यादी प्रहरी परिचालन गरिएको छ ।
त्यसैगरी, बझाङमा १ हजार एक सय ८८, दार्चुलामा आठ सय २९ र बैतडीमा १ हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको जनाइएको छ ।
प्रतिनिधिसभा १६ र प्रदेशसभा ३२ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २ हजार एक सय ४६ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये ७ सय १० अतिसंवेदनशील, ७ सय ७८ संवेदनशील र ६ सय ५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
१ हजार १ सय ६१ मतदानस्थल रहेको यो प्रदेशमा सामान्यभन्दा संवेदनशील मतदानस्थलको संख्या बढी छ । अतिसंवेदनशील तीन सय ५२ र संवेदनशील ४ सय चार गरी प्रदेशभरि ७ सय ५६ मतदानस्थल संवेदनशील रहेका हुन् ।
४ सय ५ मतदानस्थल भने सामान्य सूचीमा रहेको सुरक्षा निकायले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।