प्रधानमन्त्री देउवाप्रति एमाले अध्यक्ष ओलीको टिप्पणी : बोल्न पनि नसक्नेले के गर्न सक्छ ?

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘बोल्न पनि नसक्नेले केही गर्न नसक्ने’ भन्दै टिप्पणी गरेका छन् । डोटीको सदरमुकाम दीपायलमा आयोजित चुनावी सभामा बोल्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् । 

६० वर्षदेखि भारतीय अतिक्रमणको चपेटामा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफूले नेपाली नक्सामा समावेश गरेको दाबी गर्दै उनले वर्तमान प्रधानमन्त्रीले यसबारे बोल्न नसकेको आरोप लगाए । ‘मैले अस्ति दार्चुलामा गएर उक्त भूमि फिर्ता ल्याउने कुरा गरेँ । तर, प्रधानमन्त्रीज्यूले बोलेर हुन्छ ? भन्नुभएको छ,’ ओलीले भने, ‘बोल्न पनि नसक्नेले केही गर्ला ?’

भारतले गरेको नाकाबन्दीको विषयमा देउवाले एक शब्द पनि बोल्न नसकेको उनको आरोप छ । नेपालमा संविधान जारी भएलगत्तै भारतले नेपालमा नाकाबन्दी गरेको थियो । नाकाबन्दीका बेला ओली प्रधानमन्त्री थिए ।

डोटीको कार्यक्रममा बोल्दै ओलीले पहिले चितवनका कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न नपाएको, तर अहिले देश देशैभरि रुखमा भोट हाल्न नपाएको बताए । उनले भने, ‘कमसेकम लोकतन्त्रको पहरेदार अब एमाले हो । एमालेले अर्का पार्टीका कार्यकर्ता भनेर छुट्ट्याउने छैन । समान विकास गर्नेछ ।’

डोटीमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रेम आलेले देशकै बेइज्जत गरेको ओलीको आरोप छ । आलेले आफ्नो विरोध गर्नेलाई अपशब्द प्रयोग गरेको प्रसंगलाई इंगित गर्दै ओलीले भने, ‘मन्त्रीको भाषा हेर्नुभयो, यस्तो मान्छे यसपटक फेरि उम्मेदवार बनेको सुनियो । त्यस्ता विश्वासघाती, पार्टीको माया नगर्ने र मत बेच्नेलाई जमानत जफत गराउनुस् ।’





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १५:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया