\
सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताए । बैठकले बागी उम्मेदवारलाई निष्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेताहरुलाई पुनः ध्यानाकर्षण समेत गराएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै समितिका सदस्य आचार्यले भने, ‘जहाँ गठबन्धनको विरुद्ध गठबन्धनको उम्मेदवारी छ । त्यसलाई निष्क्रिय गराउनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरिएको छ ।’
बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।