‘उम्मेदवारको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही हुन्छ’
फरकधार / २८ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

निर्वाचन आयोगले उम्मेदवारको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने चेतावनी दिएको हो ।



निर्वाचन आयुक्त  रामप्रसाद भण्डारीले स्थानीय प्रशासनका कर्मचारीले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए । उनले कुनै पनि स्थानीय प्रशासनहरू उम्मेदवारको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यमलाई आग्रह गरे ।



‘दलहरूको पक्ष र विपक्षमा स्थानीय प्रशासन लाग्दैन भन्नेमा हामी ढुक्क छौँ । कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरूको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा आयुक्त भण्डारीले भने, ‘यति ठूलो जोखिम उठाउनुपर्छ कि उहाँहरूको त्यो सेवा अवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्नसक्छ । त्यसो भएको हुनाले त्यो प्रकृतिको कसैलाई समर्थन गर्ने गरी आदेश, निर्देशन जारी गर्नुहुन्छ भन्ने आयोगले विश्वास नै गर्दैन । अहिलेसम्म हामीले पाएको प्रगति विवरण अनुसार कुनै पनि ठाउँबाट त्यस्ता चुनौती आएका छैनन् । र, अब आउँदा पनि आउँदैनन् । चुनौती आउनु पनि हुँदैन । त्यसैले विषय विषयमा पनि हामीले मसिनो ढंगले निगरानी गरिराखेका छौँ ।’ 



उनले निर्वाचनलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने पनि बताए । स्थानीय तहमा कार्यरत कर्मचारी कामको सिलसिलामा राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्ष/विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने उनको भनाइ छ । आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीको गतिविधिमा सूक्ष्म ढंगले निगरानी राखेको पनि बताए ।



उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न आयोग सचेत रहेको पनि बताए । अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारले आचारसंहिता उल्लंघनको घटना बढाउने सक्ने आकलन गरी आयोगले सोहीअनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको उनको भनाइ छ ।  

‘आचारसंहिता कुनै पनि ठाउँमा उल्लंघन हुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ भनेर हामी सबै पनि सचेत भएर लागेका छौँ । यसको अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउनसक्छ त्यसो भएर तपाईँहरू सचेत भएर कारबाही गर्नुस् भनेर हामीले भनिसकेका छौँ । त्यसो हुनाले आयोगलाई लाग्छ कि, अब यस्ता किसिमका घटनाहरू हुँदैनन्,’ निर्वाचन आयुक्त भण्डारीले भने, ‘सबै अनुशासित भएर, आचारसंहिताको परिधिभित्र रहेर आचारसंहिताको ख्याल गर्नुहुन्छ । त्यो पनि कहिलेसम्म प्रचारप्रसार गर्न पाउने हो, त्यसको सीमा निर्धारण पहिल्यै गरिएको छ । त्यो भनेर अब त्यस्तो घटना आउँदैन भन्ने होइन, आउन सक्छन् । तर, त्यसलाई तत्क्षणमा नियन्त्रण गर्न हामीसँग साधन सक्षम छ । एकदम सचेत छ ।’ 



निर्वाचन आयोगले गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको पनि उनले बताए । निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको पनि बताए ।  

‘गृह प्रशासनलाई पनि हामीले प्रशस्त निर्देशन दिएका छौँ । कुनै पनि ठाउँमा शान्ति, सुरक्षा, अमनचैन उल्लंघन हुने कुनै पनि काम हुनुहुँदैन । निर्वाचन प्रयोजनका लागि विभिन्न बेलामा विभिन्न किसिमका झडपहरू हुन सक्छन् । त्यो सबै नियन्त्रण हुनुपर्दछ । त्यो झडप नहुने प्रकृतिले पहिल्यै तयारी गरेर सम्बन्धित ठाउँमा बस्नुपर्दछ भनेर हामीले भनिसकेका छौँ । सोही अनुरूप गृह प्रशासनले पनि उहाँहरूका सबै प्रमुख जिल्ला अधिकारीहरू र त्यसको अतिरिक्त सुरक्षाकर्मीहरूलाई सबैलाई एकदम सचेत गराएर राख्नुभएको छ,’ आयुक्त भण्डारीले भने ।



उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि बताए । 

  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १०:५१:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया