ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिनको लागि सोमबार अन्तिम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दुई बैंकको मर्जरका लागि मूल्यांकनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरेका छन् ।
मर्जरपश्चात् बैंकको कूल पुँजी ५७ अर्ब र चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुग्ने बैंकका अधिकारीहरूले बताएका छन् । बैंकको कूल निक्षेप ४ खर्ब र कूल कर्जा ३ खर्ब ७९ अर्बभन्दा बढी हुने बताइएको छ ।
मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुईजना रहनेछन् ।
त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नै निरन्तरता पाउने भएका छन् ।
दुई बैंकहरुको मर्जरपश्चात् ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय रहनेछन् । बैंकको ४० लाखभन्दा बढी ग्राहक हुने बैंकका अधिकारीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।