पानीको वैकल्पिक स्रोत पहिचान गरी काठमाडौंको समस्या समाधान गर्छु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक स्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन् । 

उनले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा यहाँबाट विजयी हुने उम्मेदवारहरूले पानीको वैकल्पिक स्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए । नेता सिंहले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम्मेदवारले जित्नुपर्ने भन्दै आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा विकास गर्नका लागि पर्याप्त ठाउँ र कामहरू रहेकाले सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई विजय गराउनुपर्ने बताए । 

‘२ नम्बर क्षेत्रको विकास निर्माणमा तीव्रता ल्याउन साथ दिनसक्ने, तपाईँको माझमा बस्न, भिज्न, बोलाएको समयमा आउने माननीय चाहिएको भए ओनसरी घर्तीलाई जिताउनुस् । यो निर्वाचन क्षेत्र विकास गर्नको लागि प्रशस्त ठाउँ छ । साँखु शहरको सभ्यता, संस्कृतिलाई जगेर्ना गर्नुपर्छ । राम्रो उम्मेदवार गठबन्धनले प्रस्तुत गरेको छ, सोचेको भन्दा बढी काम गर्नुहुन्छ । यो क्षेत्रमा पनि शुद्ध खानेपानीको समस्या छ,’ सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘पानीको लागि हामीले अब काठमाडौंमा जित्नेहरूले वैकल्पिक पानीको श्रोत पहिचान गरी पूरापुर सदुपयोग गर्न काम गर्नुपर्छ । हामी त्यसका काम गर्नेछौँ । हामीले प्रविधिलाई प्रयोग गरी पानी संकलन गरेर काठमाडौंभर पानी दिनसक्ने क्षमता बनाउन वैकल्पिक पानीको केन्द्रहरू अघि बढाउँछौँ ।’
 
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को पुरानो साँखु शहरको सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । नेता सिंह सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार छन् ।  





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १०:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया