मैत्रीपूर्ण फुटबलमा पाकिस्तानसँग भिड्दै नेपाल, यस्तो छ हेड टु हेड नतिजा

नेपालले आज मैत्रीपूर्ण अन्तर्राष्ट्रियमा पाकिस्तानको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा छ । पाकिस्तान पनि आफ्नो अन्तर्राष्ट्रिय पुनरागमनलाई सुखद बनाउने सोचमा छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तान नेपाल आएको हो ।

नेपाल र पाकिस्तानले हालसम्म औपचारिकरूपमा १६ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले चार र पाकिस्तानले सात जितको नतिजा निकाल्दा पाँच खेल बराबरीमा सकिएको छ ।

यी दुईले पहिलोपटक सन् १९८५ मा एक अर्काको सामना गरेका थिए ।  बंगलादेशको ढाकामा भएको उक्त खेल २–२ को बराबरीमा सकिएको थियो ।

 २०१८ को साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा  भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो ।

दशरथ रंगशालामा ५० औं खेल



नेपाली राष्ट्रिय फुटबल टोलीको घरेलु मैदान दशरथ रंगशालामा यो ५० औं खेल हुनेछ । दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब चार दशकमा नेपालले ५० खेल खेल्न लागेको हो ।

नेपालले दशरथ रंगशालामा पहिलो खेल १९८४ मा पहलो संस्करणको साउथ एसियन गेम्समा माल्दिभ्स विरुद्ध खेलेको थियो । यो खेल नेपालले ४–० ले जित्यो ।



उक्त खेलमा गणेश थापाले दुई  तथा रूपक राज शर्मा र कृष्ण थापाले एक/एक गोल गरेका थिए ।

त्यस्तै, नेपालले ४९ औं खेल गत महिना बंगलादेशसँग खेल्दा ३–१ को जित हात पारेको थियो । यो मैत्रीपूर्ण खेलमा अञ्जन विष्टले ह्याट्रिक पूरा गरे ।  

नेपालले यो मैदानमा ४९ खेल खेल्दा ५७ गोल गरेको छ । दशरथ रंगशालामा भरत खवास र अञ्जन विष्टले एक रएक ह्याट्रिक गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार ७:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया