अर्जेन्टिनाका कप्तान लियाेनल मेस्सीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ को उपाधि जित्ने मुख्य दाबेदारका रूपमा रहेको बताएका छन् ।
मेस्सीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी तीन राष्ट्रलाई सबैभन्दा चुनौतीका रूपमा लिएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो विश्वकप ट्रफी जिताउने लक्ष्यमा छन् ।
‘जब हामी दाबेदारबारे कुरा गर्छौँ । हामी सधैं एउटै टाेलीका बारेका कुरा गर्छौँ,’ साउथ अमेरिका फेडेरेसनसँगको कुराकानीमा मेसीले भने, ‘कुनै टाेलीलाई माथि राख्नुपर्यो भने मेरो विचारमा ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड अन्यभन्दा अलि माथि छन् । तर, विश्वकप धेरै कठिन छ त्यसैले जे पनि हुन सक्छ ।’
कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलसम्म अपराजित छ । आफ्ना लागि यो अन्तिम विश्वकप हुने उनले बताइसकेका छन् ।
‘हामी धेरै उत्साहित छौँ । हामी राम्रो समूह रहेकाले विस्तारै अघि बढ्ने सोचमा छौँ,’ मेस्सीले भने, ‘हामी उत्कृष्ट तरिकाले विश्वकपकाे सुरुवात गर्ने आशमा छौँ ।’
विश्वकप फुटबल यही २० नोभेम्बरदेखि कतारमा सुरु हुँदैछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकपकाे सुरुवात गर्नेछ । त्यसपछि उसले मेक्सिकोसँग २६ तथा पोल्याण्डसँग ३० नोभेम्बरमा खेल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।