मतदान केन्द्रमा क्यामेरा लैजान नपाइने
आवश्यक समन्वय गर्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई मोबाइलजस्ता वस्तुहरू मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रबन्ध मिलाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।  

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहीत तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानुनको व्यवस्था भित्र रहेर काम गर्न गराउन निर्देशन दिएका हुन् ।  

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिए ।

आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षीय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देश गरिएको छ । त्यस्तै, मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सूचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । 

‘मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति निर्वाचन आयोगले  विशेष निर्देशन जारी गरेको छ ।  मतदान कार्यमा संलग्न हुने मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान कार्यमा खटिने कर्मचारीले यो निर्देशनलाई गम्भीरतापूर्वक बुझि तदनुसार पालना गर्नको निम्ति म निर्देश गर्दछु ।  मतदान केन्द्रमा मतदान अधिकृतले निषेधित गरेका र कानुनद्वारा निषेधित अन्य वस्तुहरू मतदान केन्द्रमा लान नमिल्ने भएको हुँदा सुरुमा सर्वपक्षीय बैठक राखि यस्ता वस्तुहरू नलिई आउनका लागि सबै मतदातालाई अनुरोध गर्ने र तदनुसारको आवश्यक प्रबन्ध मिलाउनु पर्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने व्यवस्था गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार ९:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया