प्रकाशमान सिंह भन्छन्– जनताले चुनावपछि प्रधानमन्त्री बन्नुस् भनेका छन्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएका हुन् ।

नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएको जानकारी दिए । 

‘चौथोपटकको चुनाव भिड्न लागिरहेको बेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । मलाई के भन्नुभएको छ भने हामीले चुनेर पठाएर तपाई उपप्रधानमन्त्रीसम्म बन्नुभयो, हामी फेरि पनि चुन्छाैँ, तपाई प्रधानमन्त्री हुनुपर्‍यो भनिरहेका छन् । अधिकांशले भनेका छन् । यो निर्वाचन क्षेत्रको विकास निर्माणको काम गर्ने हो भने समुदायलाई हुने, टोललाई हुने सबै कामहरुमा हामीले बाटोदेखि, गल्लीहरू ढुंगाले छापेका छौँ, मेन रोड पिच भइसकेका छन्, ५ वर्षअघि बाटोहरू खराब थिए । यसअघि घरदैलोमा जाँदा किन भोट दिने भनेर गाली गर्थे । तर यसपटक सबैले समर्थन गरेका छन् । खानेपानी कहिले भनिरहेका छन् । स्वास्थ्य, शिक्षाको सेवा राम्रो हुनुपर्छ भन्ने छ,’ सिंहले भने ।  

उनले विगतका चुनावमा भन्दा यसपटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका काम उल्लेख्य गरेको बताए । नेता सिंहले जनताले काठमाडौं–१ मा खानेपानीको समस्या समाधान गर्ने कुरा पहिलो माग राखेको बताए ।

गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको उनले बताए । नेता सिंहले आसन्न निर्वाचनमा जित हासिल गरे पनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताए । शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिने पनि उनको भनाइ छ । 

‘शिक्षाको गुणस्तरमा समानता ल्याउन हामी हेर्नेछाैँ । सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा फरक भएकाले अब समान बनाउने काम हामी गर्नेछौँ । संघीय शिक्षा ऐन बनाउँदा त्यसमा हामी बढी जोड दिनेछौँ । १६ रोपनी भन्दा बढी सार्वजनिक जग्गा हडपेर उपभोग गरेकोबाट फर्काएर बानेश्वर एक नम्बर निर्वाचन क्षेत्रमा १५ वटा पार्क बनाउने छौँ । पार्क, भवन, ओपन जिम बनाउनेछौँ,’ सिंहले भने । 
 
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारको रूपमा रहेका सिंहले आफ्नो निर्वाचन क्षेत्रमा भएका सार्वजनिक जग्गा अनधिकृत रूपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्कहरू बनाउने पनि बताए । उनले संवैधानिक निकायमा राजनीतिकरण हुनु नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १०:५२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया