इन्डोनेसियाको बालीमा जारी जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ आमनेसामने भएका छन्। तर, दुवैबीच औपचारिक वार्ता भने भएको छैन ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सोमबार राति शिखर सम्मेलनमा सहभागी नेताहरूलाई रात्रि भोजको आयोजना गरेका थिए । सोही ठाउँमा प्रधानमन्त्री नरेन्द्र मोदी र सी जिनपिङ आमनेसामने भएका हुन् ।
सन् २०२० मा गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंसा भएको थियो, त्यसपछि दुवै पहिलो पटक आमनेसामने भए र केही समय कुराकानी पनि गरे ।
गलवान र कयौं सीमा क्षेत्रमा चीन भारतीय भूमिमा प्रवेश गरेको दाबी गर्ने कांग्रेस पार्टीले मोदी र जिनपिङबीचको भेटलाई निशाना बनाएको छ ।
कांग्रेस सांसद राहुल गान्धी पनि गलवान र चीनको कथित अतिक्रमणलाई लिएर मोदी सरकारमाथि सधैं आक्रामक छन्। मोदी र सी जिनपिङको भिडियो कांग्रेस पार्टीको ट्विटर ह्यान्डलबाट सेयर गरिएको छ ।
यति मात्र होइन, कांग्रेसले गलवानमा भएको हिंसामा मारिएका २० भारतीय सैनिकको नाम पनि साझा गरेको छ ।
इन्डोनेसियाको राष्ट्रपति सचिवालयको आधिकारिक युट्युब च्यानलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सिटबाट उठेर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हात मिलाएर केही बेर कुराकानी गरेको देख्न सकिन्छ ।
दुवैको भेट हुने बित्तिकै त्यहाँ ठूलो भीड जम्मा भयो र धेरै मानिसहरू यस पलको भिडियो बनाउँदै पनि देखिएका थिए । भर्खरै उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) बैठकमा नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी भएका थिए।
बीबीसी हिन्दीबाट
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।