निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा

सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गृह सचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चतता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे ।

‘प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्थालाई सुनिश्चितता गरिएको छ । हामीले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरू सम्पन्न गरिसकेका छौँ । त्यसबाट प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरुसँग, समितिहरुसँग छलफल भएको छ । त्यहाँ सबै ठाउँको प्रतिवेदनको आधारमा हेर्दा सुरक्षा व्यवस्था चुस्त छ । निर्धक्क भएर मतदान गर्नसक्ने किसिमको वातावरण बनाउन सुरक्षा निकायहरु र जिल्लामा रहेका सुरक्षा निकायहरू सक्षम रहेको देखिन्छ,’ उनले भने । 

गृह सचिव सिंहले देशका सबै ठाउँका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भई मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकाय सक्षम रहेको बताए । उनले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरू निर्वाचन केन्द्रमा पुगिसकेको बताए । गृह सचिव सिंहले मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

‘यो अवधिमा विशेष गरी निर्वाचनको सन्दर्भमा उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा यी सबै कुराको सुरक्षालाई हामीले हेरिरहेका छौँ । सबै क्षेत्रबाट सुरक्षाको प्रत्याभूति गर्न सकिने स्थिति रहेको छ । निर्धक्क भएर मतदान गर्नसक्ने वातावरण तयार भएको देखिन्छ । हामीसँग १० हजार ८ सय ९२ वटा मतदान स्थलहरू रहेका छन् । त्यसमा २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरू रहेका छन्,’ उनले भने, ‘ हामीले हरेक मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेका छौँ । तदनुरूप नै सुरक्षाकर्मीहरू सम्पूर्ण मतदान स्थलहरूमा र मतदान केन्द्रहरूमा सुरक्षाका लागि खटिसकेका छन् । निर्वाचनको दिन र निर्वाचन भन्दा अघिको मौन अवधिमा पनि सम्पूर्ण रुपमा सुरक्षा प्रबन्धकहरू गरेका छौँ । त्यसले आसन्न निर्वाचनमा भयरहित र शान्तिपूर्ण निर्वाचन गराउन सक्षम हुनेछाैँ ।’ 
 
देशभर कुल १० हजार ८ सय ९२ वटा मतदान स्थल र २२ हजार २ सय २७ वटा मतदान केन्द्र रहेका छन् ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १३:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया