बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने
फरकधार / ३० कात्तिक, २०७९

नेपालमा पहिलोपटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । बेष्ट एयरलाइन्स अवार्ड नेपालले १३ डिसेम्बर २०२२ का दिन बेष्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गर्न लागेको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बेष्ट एयरलाइन्स अवार्ड नेपालले नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड गर्न लागेको बताएको छ । 



पत्रकार सम्मेलनमा बेष्ट एयरलाइन्स अवार्ड नेपाल आयोजनाका अध्यक्ष सागरदेव लाखेले हवाई क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले डिसेम्बर १३ का दिन विशेष समारोहका बीच बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने बताए । 

अन्तर्राष्ट्रियतर्फ १६ विधा बेस्ट एयरलाइन्स अवार्डमा ३ विधामा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको उनले बताए । ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाबीच प्रतिस्पर्धा गराइने उनले बताए । 



अध्यक्ष लाखेले २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारमध्येबाट एक उत्कृष्टलाई चयन गरिने बताए । विभिन्न डिजिटल तथा अन्य माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा अवार्ड दिने उनको भनाइ छ । 



अवार्डको निर्णायक मण्डलमा ११ जना प्रतिष्ठित व्यक्तित्वहरु रहेको उनले जानकारी दिए । जसमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोेसिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्वअध्यक्ष सिएन पाण्डे रहेको उनले बताए । 

त्यस्तै अन्य निर्णायकमा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेको उनले बताए । 

अवार्ड, नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने भएको छ । जसमा नेपालबाट काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् । 

अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रूपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थासँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोन्सरसिप नलिएको बताएको छ । बुधबार नै अवार्डका लागि हस्पिटालिटी पार्टनरको लागि हायात प्यालेस काठमाडौं होटलसँग सम्झौता गरेको छ । 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १८:३७:४०,   अन्तिम अपडेट : कात्तिक ३०, २०७९ बुधबार १८:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया