निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन् ।

उनले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन् । ‘निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो । जाहाँनिया राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक सङ्घर्षको चरण पूरा गरिसकेको छ । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै उनले अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनु कांग्रेसको जिम्मेवारी भएको बताएका छन् । वि.सं २०४६ पछि मुलुकले आर्थिक र  सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

‘हाम्रा युवा प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दै छन् । उनीहरूको ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढ्ने छौँ । हाम्रा शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त दुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ,’ प्रधानमन्त्री देउवाले भने । 

सीमान्तकृत समुदायको अधिकार प्राप्तिदेखि पिछडिएको समुदाय र क्षेत्रको उत्थानमा कांग्रेसको सरकारले धेरै महत्वपूर्ण काम गरेको बताउँदै उहाँले यसलाई अझै परिणाम देखिने गरी अघि बढाइने उल्लेख गरेका छन् । निर्वाचनमा जनताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १०:२३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया