पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको तयारी
फाइल तस्बिर

पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । 

उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए ।

‘मन्त्रालयबाट गत साउनमा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाएका छौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम गरिरहेको छ, यसपछि सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रुपमा सञ्चालन गछौँ,’ उनले भने ।

उनका अनुसार मंसिरमै प्राविधिक प्रक्रियाको काम सकिनेछ भने पुसदेखि उडान थालिनेछ । सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो । 

कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला तीन दिनसम्म परीक्षण उडान गरिएको थियो । त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिकरूपमा उडानका लागि परीक्षण गरिएको थियो । 

उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति दिइएको बताइएको छ । हुमागाईका अनुसार दैनिक १० उडान भर्न बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म अनुमति पाएको छ । 



तोकिएको समयमा ६ हजार ५ सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने बताइएको छ । तर, सुरुमा पाँच र त्यसपछि १० प्याराग्लाइडिङ सञ्चालन गरिने छ ।  



  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १०:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया