\
नेपाली फुटबलको घर मानिने दशरथ रंगशालामा नेपालको राष्ट्रिय फुटबल टोलीले ५० औं खेलको कोशेढुंगा पूरा गरेको छ । नेपालले बुधबार पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलसँगै दशरथ रंगशालामा ५० खेलको कोशेढुंगा पूरा गरेको हो ।
५० औं खेलमा नेपालले १–० को जित समेत हासिल गर्यो । नेपालको जितमा अञ्जन विष्टले निर्णायक गोल गरे ।
नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । ३९ वर्षमा नेपालले यो मैदानमा ५० खेल पूरा गरेको छ ।
नेपालले दशरथ रंगशालामा पहिलोपटक माल्दिभ्सविरुद्ध औपचारिक अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुदअन्तर्गत
१८ सेप्टेम्बरमा भएको खेल नेपालले ४–० ले आफ्नो पक्षमा पार्यो । नेपालले दशरथ रंगशालामा १८ जित १९, १३ खेल बराबरीको नतिजा निकालेको छ । यो मैदानमा नेपालले दुई आत्मघातीसहित कुल ५८ अन्तर्राष्ट्रिय गोल गर्दा हालसम्म २१ राष्ट्रसँग खेल खेलेको छ ।
नेपालले यो मैदानमा पाकिस्तानविरुद्ध मात्र आठ खेल खेलेको छ । दशरथ रंगशालामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका फरवार्ड भरत खवासले एक ह्याट्रिकसहित ६ गोल गरेका छन् ।
यस्तै,पूर्व कप्तान तथा फरवार्ड हरि खड्का र फरवार्ड अञ्जन विष्टले समान पाँच गोल गरेका छन् । अञ्जनको नाममा एक ह्याट्रिक पनि छ । पूर्वकप्तान अनिल गुरुङले चार तथा पूर्व फरवार्ड जुमानु राईले तीन गोल गरेका छन् ।
यस्तो छ दशरथ रंगशालामा नेपालको ५० खेलको नतिजा
सन् १९८४ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत माल्दिभ्सविरुद्ध ४–० जित । गोलकर्ता गणेश थापा दुई तथा रूपकराज शर्मा र कृष्ण थापा समान एक ।
सोही प्रतियोगितामा बंगलादेशविरुद्ध ४–२ को जित । गोलकर्ता कृष्ण थापा, सुरेश पन्थी र वाईबी घले एक तथा एक आत्मघाती ।
सन् १९८५ विश्वकप छनोटमा दक्षिण कोरियासँग २–० को हार । सोही प्रतियोगितामा मलेसियाविरुद्ध गोलरहित बराबरी । सन् १९८७ ओलम्पिक छनोट पाकिस्तानसँग गोलरहित बराबरी । सोही प्रतियोगिताको दोस्रो खेलमा पाकिस्तानविरुद्ध १–० ले विजयी । गोलकर्ता धीरेन्द्र प्रधान । उनले कर्नरबाट सिधै गोल गरेका थिए ।
सन् १९८८ एसियन कप छनोटमा इरानसँग ३–०, उत्तर कोरियासँग १–० तथा सिरियासँग ३–० ले पराजित । हङकङसँग गोलरहित बराबरी ।
सन् १९९७ साफ च्याम्पियनसिप पाकिस्तानविरुद्ध २–० तथा श्रीलंकाविरुद्ध ३–१ को हार । गोलकर्ता दीपक अमात्य ।
सन् १९९९ दक्षिण एसियाली भुटनाविरुद्ध ७–० ले विजयी हरि खड्का र बसन्त थापा दुई÷दुई तथा दीपक अमात्य, नरेश जोशी र निराजन राइमाझी समान एक । सोही प्रतियोगितामा पाकिस्तानविरुद्ध ३–१ को जित । गोलकर्ता बालगोपाल महर्जन र हरि खड्का समान एक तथा एक आत्मघाती ।
दक्षिण एसियाली खेलकुदमै भारतसँग ४–० को हार तथा माल्दिभ्ससँग २–१ को जित । गोलकर्ता नरेश जोशी र हरि खड्का । सोही प्रतियोगिताको फाइनलमा बंगलादेशसँग १–० ले पराजित ।
सन् २००३ एसियन कप छनोटमा अफगानिस्तानविरुद्ध ४–० ले विजयी गोलकर्ता निराजन रायमाझी २ तथा हरि खड्का र दीपक लामा समान १ । सोही प्रतियोगितामा किर्गिस्तानसँग २–० को हार
सन् २००७ विश्वकप छनोट ओमानसँग २–० हार । सन् २००९ एएफसी च्यालेन्ज कप छनोटमा प्यालेस्टाइनसँग गोलरहित तथा किर्गिस्तानसँग १–१ बराबरी । गोलकर्ता विराज महर्जन । यो उनको एक मात्र अन्तर्राष्ट्रिय गोल हो ।
सन् २०११ एएफसी च्यालेन्ज कप छनोट अफगानिस्तानविरुद्ध १–० ले विजयी । गोलकर्ता भरत खवास । सोहि प्रतियोगितामा उत्तर कोरियासँग १–० को हार तथा श्रीलंकासँग गोलरहित बराबरी ।
सन् २०११ विश्वकप छनोट टिमोर लिस्टेविरुद्ध २–१ को जित । गोलकर्ता अनिल गुरुङ र जुमानु राई । सोही प्रतियोगिताको दोस्रो खेलमा टिमोर लिस्टेविरुद्ध नै ५–० को जित । गोलकर्ता अनिल गुरुङ,भोला सिलवाल ,सुजल श्रेष्ठ, जुमानु राई र जगजित श्रेष्ठ ।
सन् २०११ विश्वकप छनोट जोर्डनसँग १–१ को बराबरी । गोलकर्ता भरत खवास । सन् २०१२ एएफसी च्यालेन्ज कप छनोट प्यालेस्टाइनसँग २–०,माल्दिभ्सँग १–० तथा तुर्किमिनिस्तानसँग ३–० ले पराजित ।
सन् २०१२ मैत्रिपूर्ण खेलमा बंगलादेशसँग १–१ को बराबरी । गोलकर्ता भोला सिलवाल । सन् २०१३ पाकिस्तानविरुद्धको दुवै मैत्रीपूर्ण खेलमा समान १–० को पराजय ।
सन् २०१३ एएफसी च्यालेन्जकप छनोट नर्दन मारियाना आयरल्याण्डविरुद्ध ६–० को जित । गोलकर्ता भारत खवास ह्याट्रिक, सन्तोष शाहुखाल, सन्दीप राई, राजु तामाङ समान एक । सोहि प्रतियोगितामा बंगलादेशसँग २–० हार तथा प्यालेस्टाइनसँग गोलरहित बराबरी ।
सन् २०१३ साफ च्याम्पियनसिप बंगलादेशविरुद्ध २–० जित । गोलकर्ता अनिल गुरुङ र भरत खवास । सोही प्रतियोगितामा पाकिस्तानसँग १–१ को बराबरी । गोलकर्ता विमल घर्ती मगर
सन् २०१३ साफ च्याम्पियनसिपमै भारतविरुद्ध २–१ को जित । गोलकर्ता जुमानु राई र अनिल गुरुङ । सोही प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानसँग १–० को हार ।
सन् २०१५ विश्वकप छनोट भारतसँग गोलरहित बराबरी । सन् २०२१ थ्रि नेसन्स कप बंगलादेशविरुद्ध गोलगरहित बराबरी । सोही प्रतियोगिताको फाइनलमा २–१ को जित । गोलकर्ता विशाल राई र सञ्जोक राई ।
सन् २०२१ पहिलो मैत्रीपूर्ण खेलमा भारतविरुद्ध १–१ को बराबरी गोलकर्ता अञ्जन विष्ट । दोस्रो मैत्रीपूर्ण खेलमा २–१ को हार । गोलकर्ता तेज तामाङ ।
सन् २०२२ मोरिससविरुद्धको दुवै मैत्रीपूर्ण खेलमा समान १–० को जित । गोलकर्ता पहिलोमा विमल घर्ती मगर र दोस्रोमा सुजल श्रेष्ठ ।
सन् २०२२ बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध ३–१ को जित । अञ्जन विष्टको ह्याट्रिक । पाकिस्तानविरुद्धको मैत्रिपूर्ण खेलमा १–० ले विजयी । गोलकर्ता अञ्जन विष्ट ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।