सूर्यको सहारामा फुल्न चाहन्छन् कमल, तर प्रश्न -  फक्रिएलान् ?
फाइल फाेटाे

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन आउन अब केही समय बाँकी छ । आज रातीबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु हुनु अघिको दिन अर्थात् आज मकवानपुरका उम्मेदवारहरूले अन्तिम सभा, सम्मेलन तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । 

केही नाम चलेका हेभीवेट नेताहरूको निर्वाचन भूमि रहेको कारण पनि मकवानपुरको चर्चा देश व्यापी नै हुने गरेको छ । चर्चा बटुल्ने पहिलो नाम हो कमल थापा । सूर्यको सहारामा फुल्न चाहन्छन् कमल । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष थापा मकवानपुरको क्षेत्र नम्बर १ बाट नेकपा एमालेको समर्थनमा सूर्य चिन्हबाट निर्वाचनमा होमिएका छन् । उनलाई जसो गरेर भए पनि आफ्नो जितको साँचो हातमा पार्नु छ । जस कारण आफ्नो चुनाव चिन्ह भुलेर सूर्य चिन्हको प्रचारमा रमाइरहेका छन् । 

यसअघिका निर्वाचनहरूमा थापा एमालेकै कारण पटक–पटक पराजित भएका थिए । प्रजातन्त्र पुनः स्थापनापछि भएको पहिलो आमनिर्वाचन ०४८ मा पराजित भएका थापा ०५१ को मध्यावधि चुनावमा भने विजयी भएका थिए ।

थापा ०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र ०६२ को पूर्व राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् । ०४८ को निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । ०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए । त्यस बेला दाहालले २० हजार ४ सय ४२ मत पाउँदा थापाले १५ हजार ९ सय ८५ मत प्राप्त गरेका थिए ।

०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उम्मेदवार बनेका थापा तेस्रो भए । ०७० को संविधानसभा निर्वाचनमा उनी प्रतिस्पर्धामा उत्रिएनन् । उनले आफ्नो श्रीमतीलाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिकबाट सांसद बनेका उनी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने ।



०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका थिए । दाहालले ४० हजार ६ सय ३१ मत पाएर विजयी भएका थिए भने थापा ३४ हजार ६ सय ५८ मत ल्याएर पराजित भएका थिए ।

देशकै प्रभावशाली नेताको रूपले चिनिने थापाको आफ्नो पार्टीको जनमत न्यून छ । राप्रपा बाट अलग्गिएर बनेको राप्रपा नेपालमा पुराना केही कार्यकर्ताहरू छन् भने बाँकी सबै राप्रपामा नै छन् ।



०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा गृह जिल्लामै एमालेका उम्मेदवार कृष्ण दाहाल सँग पराजित भएका थापा यस पटक एमालेसँगैको गठबन्धनमा चुनावमा होमिएका छन् । त्यसो त, ‘जित्नकै लागि सूर्य चिन्ह रोजेको हुँ’ भन्ने थापालाई एमाले मतदाताको साथ रहे जितको संघारमा पुग्न सहज हुने वातावरण सृजना होला । यद्यपि, सूर्यको आडमा फुल्न चाहेका कमलको चाहना पूरा होला?, अर्थात् धेरैले प्रश्न गरिरहेका छन् - सूर्यको सहारामा कमल ‘फक्रिएलान्’ ?, यसको जवाफ भने निर्वाचन पछि नै थाहा हुनेछ । 

  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १४:१३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया