नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका धनुषा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवले नेकपा एमालेसँग गठबन्धन गर्ने दलहरू प्रतिक्रियावादी रहेको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक चिकित्सक संघ मधेस प्रदेशले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूसँग आयोजना गरेको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेता यादवले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई भोट खसाल्न जनता आतुर रहेको बताएका हुन् ।
उनले धनुषा निर्वाचन क्षेत्र नम्बर–४ मा पाँच दलीय गठबन्धनको ४५ हजार मत रहेकोले गठबन्धनका उम्मेदवारहरूको जीत सुनिश्चित रहेको दाबीसमेत गरेका छन् । उनले भने, ‘धनुषा–४ मा पाँच दलीय गठबन्धनको ४५ हजार र जसपा–एमाले गठबन्धनको मात्र २२ हजार मत रहेकोले हाम्रो जीत एकदम सुनिश्चित नै देखिन्छ । यसमा कुनै दुई मत छैन ।’
कार्यक्रममा धनुषा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका लोसपा नेता अनिलकुमार झाले नागरिकता सम्पूर्ण देशवासीको हक रहेको बताए । उनले नागरिकताबाट वञ्चित भई पीडा भोगिरहेका व्यक्तिहरुको कुरा सुनेर आफू धेरै दुःखी भएको बताएका हुन् ।
झाले आफू नागरिकताबिहीनहरुको आवाजको रूपमा धनुषा–३ मा प्रस्तुत भएको बताए । उनले नागरिकता र पहिचानको विषयमा आफ्नो ३० वर्षे संघर्षमा सम्पूर्ण जनताको सहभागिताका लागि आशा राखेकोसमेत बताए ।मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताएर यस अभियानमा सहभागी हुन उनले अपिल गरेका छन् ।
मधेस प्रदेशका वरिष्ठ चिकित्सक डा. हुकुमदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा धनुषा–३ (क)बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादव, ३ (ख)बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साह, ४ (क)बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार शेष नारायण यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा प्रजातान्त्रिक चिकित्सक संघका संस्थापक सदस्य डा. अन्जनी कुमार झालगायत प्रजातान्त्रिक चिकित्सक संघ आबद्ध दर्जनौँ चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झाले चिकित्सकहरूसँग भइरहेको व्यवहार र बेथितिविरुद्ध बोलेका थिए । उनले यसको समाधानका लागि पनि पहल गर्न नेताहरूसँग आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन प्रजातान्त्रिक चिकित्सक संघका सदस्य तथा नेपाली कांग्रेसका युवा नेता डा. सज्जन ठाकुरले गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।