विपद् व्यवस्थापन उद्धारकर्मी तयार गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिका आफ्ना सबै वडामा विपद्का समयका लागि उद्धारकर्मी तयार गर्ने कार्यमा जुटेको छ । घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महानगरले हरेक वडामा विपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयंसेवक तयार गर्ने तयारी थालेको हो । 

एउटा वडाबाट ४० स्वयंसेवक तयार गर्नका लागि सम्बन्धित वडामा तालिम सञ्चालन गरिने कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । तालिमप्राप्त स्वयंसेवकलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइनेछ । 

महानगरका सबै वडामा १४ सदस्यीय विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन भइसकेको छ । डंगोलका अनुसार यस समितिमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्नेछ । उनका अनुसार विपद् व्यवस्थापन समितिले नै स्वयंसेवक तयार गर्नेछन् । यसका लागि वडा ६, ७ र २१ बाट स्वयंसेवक गठन भई नाम आइसकेको प्रवक्ता डंगोलले बताए । 

‘महानगरभित्रको विपद्मा तत्काल खटिन सक्ने एक हजार दुई सय ८० दक्ष उद्धारकर्मी तयार गर्ने तयारीमा लागेका छौँ,’ प्रवक्ता डंगोलले भने, ‘यी जनशक्तिले विपद् पूर्वतयारी तथा प्रतिकार्यको काम गर्नेछन् । तयार पारेका स्वयंसेवकमार्फत हामी हरेक घरमा पुग्ने प्रयास गर्नेछौँ ।’ 

महानगरले विपद् पूर्वतयारी तथा तत्काल राहत उद्धारमा काम गर्न महानगर आपत्कालीन कार्य सञ्चालन केन्द्र पनि स्थापना गरिसकेको छ । अहिलेसम्ममा २० वडाका पदाधिकारीलाई तालिम दिइसकेको छ । 





  • प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार १५:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया