सुर्खेत– मुलुकका सात प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपतका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । सुर्खेतमा आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालिम तथा कार्यशाला’ गोष्ठीमा सरोकारवाला अधिकारीले सो कुरा बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपतमा कर्णाली उच्च जोखिममा रहेको बताए । ‘वैज्ञानिक खोज एवं भविष्यवाणीअनुसार कर्णालीसहित सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिम छन्,’ प्रमुख भण्डारीले भने, ‘यसलाई ध्यानमा राखेर तीनवटा प्रदेशको संयुक्त कार्याशाला गोष्ठी कर्णालीमै राखेका हौँ ।’
केन्द्रमार्फत चलेको ‘विपत् पूर्वतयारी एवं प्रतिकार्य योजना तालिम’ २०७० बाट सुरु भई ०७५ साउन १ गतेबाट संरचना लागू भएको जानकारी दिँदै उनले भने, ‘निजी तथा सरकारी अस्पताल, प्रतिष्ठानमा आइपर्ने विपत् प्रतिकार्यमा सहयोग पुर्याउने हेतुले कर्णालीमा कार्याशाला गोष्ठी गरेका छौँ ।’
उनले दाङ, नेपालगन्ज, डडेल्धुराका लागि सामग्री उपलब्ध गर्ने र स्वास्थ्यकर्मीलाई तालिम दिने बताए । सुर्खेतमा सञ्चालित चारदिने यस तालिमपश्चात् यसलाई अभ्यासमा लैजाने उनको भनाइ थियो । तालिमबाट अस्पतालमा पूर्वतयारी र आपतकालीन अवस्थामा कसरी सेवा दिने भन्ने कुराको यथेष्ट सिकाइ हुने अपेक्षा गरिएको छ ।
गोष्ठीमा सुदूरपश्चिम, कर्णाली र प्रदेश नं ५ का ५० चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता छ । उनीहरुबीच अस्पताल क्षेत्रमा आइपर्ने विपतबाट बच्न गर्नुपर्ने पूर्वतयारी, अपनाउनुपर्ने उपाय र प्रतिकार्य योजना निर्माणका विषयमा व्यापक छलफल भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईंले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन तथा विपत् व्यवस्थापन एकाइ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजना तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा बिहीबारदेखि अस्पताल विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तालिम कार्याशाला गोष्ठी राजधानी सुर्खेतमा सञ्चालन भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।