नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मौन अवधिको बेलामा आचारसंहिताको उल्लंघन भएको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराएका छन् ।
गृहजिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रमा मत खसालेपछि प्रतिक्रिया दिँदै उनले सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको बताएका हुन् ।
नेपालले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गरे ।
‘खासगरी निर्वाचनमा देखा परेको विकृतिहरूको बारेमा खबर धेरै सुनेको छु । रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरू हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रूपमा रहेको पार्टीका उम्मेदवारहरूले आचारसंहिताको चरम उल्लंघन गरेको भन्ने सुनेँ,’ नेपालले भने, ‘राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिहरूलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ ।’
आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।